बेलायतद्वारा युरोपेली सङ्घबाट बाहिरिने प्रक्रिया सुरु

Post Date : March 29, 2017 | 9:24 pm

लन्डन, १६ चैत । बेलायतले युरोपेली सङ्घबाट बाहिरिने प्रक्रिया (ब्रेक्जिट) बुधबार सुरु गरेको छ । पुरानै अवस्थामा नरहने र ऐतिहासिक मोडतर्फ मुलुकलाई लैजान चाहेकाले सङ्घबाट बाहिरिने प्रक्रिया सुरु गरेको बेलायतले जनाएको छ ।

सङ्घको ६०औँ वार्षिकोत्सव मनाएको केही दिनपछि बेलायत सङ्घबाट बाहिरिने पहिलो देश बनेको हो । “यो एउटा ऐतिहासिक क्षण हो, जहाँबाट हामी पछाडि फर्कन चाहन्नौँ,” बेलायतका प्रधानमन्त्री थेरेसा मेले संसद्मा सांसदहरुलाई भन्नुभयो ।

बेलायतका जनताले सङ्घबाट बाहिरिने पक्षमा मतदान गरेको केही महिनापछि प्रधानमन्त्री मेले आगामी दुई वर्षमा बेलायत बाहिरिने गरी प्रक्रिया सुरु गर्नुभएको हो ।

ब्रसेल्समा रहेका ब्रिटिस राजदूत सर टिम ब्यारोले युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कलाई प्रक्रिया अगाडि बढाउने पत्र दिनुभएको छ ।

पत्र पाएपछि अध्यक्ष टुस्कले आफूहरुले बेलायतलाई गुमाउनु पर्दा दुःख लागेको बताउँदै यस बारेमा चाँडै छलफल सुरु गर्ने जानकारी दिनुभएको थियो ।

सम्बन्ध विच्छेद बारेको सहमति र भविष्यमा ब्रिटेन र इयुको सम्बन्धका बारेमा छलफल हुने भएको हो ।

गत जुनमा भएको जनमत सङ्ग्रहमा ब्रेक्जिट पक्षधर विजयी भएपछि सङ्घसँग बेलायतको लामो सम्बन्ध तोडिने निश्चित भएको थियो । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *