ब्याजदर कोरिडर लागू

Post Date : August 10, 2016 | 11:41 am

काठमाडौं, २६ साउन । नेपाल राष्ट्र बैंकले आजदेखि ब्याजदर कोरिडर कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीतिमा उल्लेख गरे बमोजिम घोषणा गरेको २७ औं दिनपछि कार्यान्वयनमा ल्याएको हो ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा दिंदा र तरलता व्यवस्थापन गर्दा लिने/दिने ब्याज दर नै ब्याजदर कोरिडर हो । यस ब्याजदरमा माथिल्लो र तल्लो दुईवटा सीमा तोकिन्छ । माथिल्लो ब्याजदरमा राष्ट्र बैंक (केन्द्रीय बैंक) ले बैंक तथा वित्तीय संस्थालाई तरलता प्रदान गर्छ भने तल्लो ब्याजदरमा बजारबाट तरलता प्रशोचन गर्दछ ।

राष्ट्र बैंकले यस्तो ब्याजदर कोरिडरको लागि माथिल्लो सीमाका रुपमा स्थायी तरलता सुविधाको दर (ट्रेजरी बिल्सको धितोमा बैंक तथा वित्तीय संस्थाले पाउने कर्जा) र तल्लो सीमाका रुपमा १४ दिने अवधिको निक्षेप संकलनको ब्याजदरलाई लिइने जनाइएको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३ मा ५ खर्ब २७ अर्ब ५५ करोड रुपैया तरलता प्रशोचन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा निक्षेप बोलकबोलमार्फत १ खर्ब ५ अर्ब रुपैया, रिभर्स रिपोमार्फत २ खर्ब ९० अर्ब ८० कोड रुपैया र सोझै बिक्री बोलकबोलमार्फत ६ अर्ब रुपैया तरलता प्रशोचन गरेको थियो ।

त्यसैगरी राष्ट्र बैंकले आ.व. २०७२/७३ को ११ महिनासम्ममा ४ अर्ब १ करोड अमेरिकी डलर खरिद गरी ४ खर्ब २३ अर्ब ९० करोड रुपैया बराबरको खुद तरलता प्रवाह गरेको थियो । त्यस्तै समीक्षा अवधिमा ३ अर्ब १२ करोड अमेरिकी डलर र ११ करोड युरो बिक्री गरी ३ खर्ब ४२ अर्ब ८० करोड रुपैया बराबरको भारतीय रुपैया राष्ट्र बैंकले खरिद गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *