भारु प्रतिबन्धको मारमा बिरामी

Post Date : November 9, 2016 | 5:16 pm

भीमदत्तनगर, २४ कात्तिक । भारतले मङ्गलबारको मध्यरातदेखि लागू हुने गरी भारु ५०० र एक हजारका नोट बजारमा चलाउन रोक लगाएपछि आज बिहानैदेखि त्यसको असर सिमान्त सहर भीमदत्तनगर र पश्चिमी नाका गड्डाचौकीमा परेको छ ।

यहाँबाट सीमावर्ती सहरमा उपचारका लागि जाने बिरामीदेखि भारतमा श्रम बेचेर घर फर्किरहेका नेपालीलाई भारु प्रतिबन्धको असरले छोएको छ । आज बिहान कार्यालय खुल्नासाथ कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको यात्रु शाखादेखि छेउमै रहेको भागेश्र मनी चेञ्जरसम्म भारु ५०० र एक हजारको नोट प्रतिबन्धको असर देखिन्थ्यो ।

“भन्सारको यात्रु शाखामा अस्थायी पैठारीदेखि दैनिक उपभोग्य सामानको राजस्व बुझाउने काम ठप्प छ,” भन्सार यात्रु शाखाका नायब सुब्बा वीरबहादुर थापाले भन्नुभयो । त्यसैगरी कञ्चनपुर उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष जङ्गबहादुर मल्ल भारुमा प्रतिबन्धपछिको अवस्थाका बारेमा सरकारले भारतसित कूटनीतिक रुपमा पहल गरेर व्यवस्थापनमा जुट्नुपर्ने बताउनुहुन्छ ।

लामो समयदेखि गड्डाचौकीमा मनीचेञ्जर सेन्टर सञ्चालन गर्दै आएका मल्ल बिहानैदेखि सेवाग्राही तनावमा रहेका बताउनुहुन्छ । “अरुबेला ८० प्रतिशत सेवाग्राही भारु नोट खोज्न आउँथे, आज ९५ प्रतिशत सेवाग्राही भारु दिएर नेपाली नोट मागिरहेका छन्” उहाँले भन्नुभयो ।

भारतका विभिन्न ठाउँमा रोजगारी गरेर फर्किरहेका नेपाली मजदुर प्रतिबन्धको बढी मारमा परेका छन् । “पहिले नेपाल–भारतबीच खुल्ला सीमा नाका भएका कारण रु २५ हजारसम्मको कारोबार गर्न खुकुलो थियो,” मल्लले भन्नुभयो– “श्रम बेचेरले फर्किरहेकालाई प्रतिबन्धले मार परेको छ ।” विभिन्न तवरबाट ४/५ प्रतिशत दिएर भारु किनबेच गर्नेहरु प्रतिबन्धको मारमा परेका छन् ।

आफूसित रहेको भारु नोट भारत सरकारले दिएको अवधिमा साटिने वा के हुने भन्ने विषयमा पनि सीमावर्ती क्षेत्रका नेपाली चिन्तित बनेका छन् । त्यसका साथै नेपाली उपभोक्तामा बढी आश्रित हुने सीमावर्ती भारतीय बजार वनवासा, टनकपुर, खटिमालगायतका बजारमा पनि यसको प्रभाव देखिएको छ ।

भारतमा सामान किनमेलका लागि आवतजावत गर्नेको सङ्ख्यामा कमी आएको गड्डाचौकी सीमामा खटिएका एक प्रहरीले बताउनुभयो । कञ्चनपुरमै सबैभन्दा बढी स्थानीयस्तरमा समेत भारु नोटको कारोबार हुने महाकाली नदीपारीको दोधारा चाँदनी नगरपालिकामा भारु नोटको प्रतिबन्धले असर पुरयाएको छ । कञ्चनपुरका साथै कैलाली, बैतडी, डडेल्धुरा, दार्चुलालगायतका भारतसित सीमा जोडिएका जिल्लामा समेत भारु नोटको प्रतिबन्धको प्रभाव देखिएको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *