भूकम्पपछि बन्द उद्योगका मजदुर काममा फर्किए

Post Date : July 22, 2016 | 11:38 am

भक्तपुर, ७ साउन । भूकम्पले उद्योगको चिम्नी ढालेपछि बन्द रहेको भक्तपुरको इँटा तथा टायल उद्योग १४ महिनापछि सञ्चालनमा आएको छ ।

रु तीन करोडको लागतमा ७४ मिटर अग्लो नयाँ चिम्नी पुनःनिर्माण पछि उद्योग पुनःसञ्चालनमा आएको हो ।

गत वर्ष वैशाखमा गएको भूकम्पका कारण उद्योगको इँटा पोल्ने दुईवटा भट्टा र चिम्नी ढलेर पूर्णरुपमा क्षति हुँदा करिब रु नौ करोडको क्षति भएको उद्योगका प्रबन्ध निर्देशक दुर्गा मल्लले जानकारी दिनुभयो ।

उद्योग बन्द हुँदा त्यहाँ कार्यरत ५०० मजदुर कामबाट वञ्चित भएकोमा उद्योग सञ्चालन भएपछि बिहीबारदेखि नै उनीहरु काममा फर्किएका छन् । उद्योगको दैनिक ८० हजार देखि ९० हजार इँटा उत्पादन गर्ने क्षमता रहेको छ ।

उद्योगका अध्यक्ष केपी ताम्राकारले क्षति भएको भौतिक संरचनाको पुनःनिर्माणका लागि अर्थ मन्त्रालयले आव २०७२/०७३ को वार्षिक बजेट भाषण मै बजेटको व्यवस्था गरे पनि त्यो सहयोग अझै नपाएका कारण उद्योग सञ्चालनमा ढिलाइ भएको बताउनुभयो ।

यसअघि उद्योग बन्द हुँदा त्यहाँ कार्यरत मजदुर तथा कर्मचारीलाई बिनाकाम तलब तथा भत्ता दिनुपर्दा उद्योगलाई करोडौँ आर्थिक भार परेको उहाँको भनाइ छ ।

सरकारले सञ्चालन गर्दा बन्द भएपछि उक्त उद्योग १२ वर्षअघिदेखि निजीस्तरमा सञ्चालन हुँदै आएको थियो ।

उद्योगले अर्थमन्त्रालयलाई वार्षिक रु ४० लाख भाडा बुझाउँदै आएको छ । उद्योग १४ महिनासम्म बन्द हुँदा सरकारलाई करिब रु तीन करोड राजस्वसमेत घाटा भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *