मानवीय सहायता जुटाउन रेडक्रसको साझेदारी बैठक

Post Date : June 7, 2016 | 3:17 pm

काठमाडौँ, २५ जेठ । नेपाल रेडक्रस सोसाइटीले आफूले मानवीय सेवाका क्षेत्रमा गरेका कामका बारेमा आफूलाई आर्थिक एवम् प्राविधिक सहयोग गरिरहेका दातालाई जानकारी दिएको छ ।

आजदेखि यहाँ सुरु भएको साझेदारी बैठकमा सोसाइटीले विशेष गरी गत वर्षको विनासकारी भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माण एवम् पाँच वर्षे रणनीति (२०१६–२०२१)का बारेमा आफ्ना साझेदारसित छलफल गरेको हो ।

हरेक दुई–दुई वर्षको अन्तरालमा सोसाइटीले यस किसिमको अन्तर्राष्ट्रिय साझेदार बैठक आयोजना गर्दै आएको छ । बैठक ३० भन्दा बढी देशका रेडक्रसका उच्च प्रतिनिधि तथा रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका केन्द्रीय तथा क्षेत्रीय प्रतिनिधिको सहभागिता रहेको छ ।

गत वर्षको भूकम्पपश्चात् पहिलो उद्धार तथा राहत वितरणमा रेडक्रसका स्वयम्सेवक परिचालन हुँदा अन्तर्राष्ट्रिय क्षेत्रबाट उच्च सराहना भएको थियो । यस क्रममा सोसाइटीले करिब तीन लाखभन्दा बढी भूकम्पपीडितका लागि बस्ने त्रिपाल, आधारभूत खाद्यान्न वितरण गरेको थियो । अहिले पनि सोसाइटीले उनीहरुलाई मानवीय सहायताका कार्यक्रम जारी नै राखेको छ ।

भूकम्प पुनःनिर्माणका लागि उसले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसित छ हजार घर निर्माणका साथमा जीविकोपार्जनका अन्य कार्यक्रमका लागि सम्झौता गरिसकेको छ । हाल सोसाइटीले भूकम्पबाट अति प्रभावित १४ जिल्लामा मानवीय सेवाका विशेष कार्यक्रम नै सञ्चालन गरेको छ ।

उपप्रधानमन्त्री, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सिपी मैनालीले बैठकको शुभारम्भ गर्दै मानवीय सेवाका क्षेत्रमा नेपाल रेडक्रस सोसाइटीले अग्रणी भूमिका निर्वाह गरेको बताउनुभयो ।

उहाँले प्राकृतिक विपद् (भूकम्प, आगलागी, भूक्षय)का समयमा उद्धार तथा राहत वितरण, विपद्का पूर्व तयारीका बारेमा सचेतना जगाउन सरकारको कामलाई सोसाइटीले सहयोग गरिराखेको चर्चा गर्दै सरकारले सोसाइटीको क्षमता अभिवृद्धिमा सहयोगसमेत गर्ने जानकारी दिनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले समुदायस्तरमा विपद्का तयारी, उद्धार, राहत तथा पुनःस्थापना गर्न रेडक्रसका अनुभवलाई अझ व्यापक बनाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले आयोगको तीन वर्षे विकास रणनीतिमा गरिबी निवारणका लागि सबै सङ्घसंस्थालाई परिचालन गर्ने नीति रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले भूकम्पले क्षति पु¥याएका जनताका घर निर्माण गर्न सोसाइटीले प्राधिकरणसित पहिलो सम्झौता गरेकोमा धन्यवाद दिनुभयो ।

सोसाइटीका अध्यक्ष सञ्जीव थापा, महामन्त्री देवरत्न धाख्वाले मानवीय सेवाका क्षेत्रमा सोसाइटीले गरिरहेका कामका बारेमा चर्चा गर्नुभएको थियो ।

बैठकमा सहभागीलाई भूकम्पले क्षति पु¥याएका संरचनाका अवस्था, पुनःनिर्माणका बारेमा भइराखेका कार्यका बारेमा काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानको स्थलगत भ्रमणसमेत गराइने कार्यक्रम रहेको छ ।

बैठकमा राष्ट्र सङ्घीय विकास कार्यक्रमका कामु आवासीय प्रतिनिधि क्रयाइग स्यान्डर्सले भूकम्पप्रभावित जनतालाई शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानीलगायत क्षेत्रमा थप मानवीय सहायताको खाँचो रहेको र यसमा लाग्न आग्रहसमेत गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *