मूल्य पाएपछि सुपारी कृषक उत्साहित

Post Date : February 3, 2017 | 5:24 pm

पथरी (मोरङ), २१ माघ । गाउँमै प्रशोधन केन्द्र स्थापना भएपछि यहाँका किसानले विगतमा भन्दा यसवर्ष राम्रो मूल्य पाएका छन् ।

प्रतिकिलो ११ रूपैयाँमा काँचो सुपारी बेच्दै आएका किसानले प्रशोधनपछि प्रतिकिलो १८ रूपैयाँ पाउन थालेपछि ती किसान उत्साहित छन् । सुपारीखेतीमा संलग्न किसानको आयस्तर बढाउने उद्देश्यले सुपारी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएपछि उत्तरी मोरङका सुपारी किसान उत्साहित भएको उर्लाबारीस्थित सुपारी प्रशोधन केन्द्रका सञ्चालक रामबाबु चौधरी बताउँछन् ।

पछिल्लो समय व्यावसायिक सुपारीखेती गर्दै आएका उत्तरी मोरङका किसानको जीवनस्तर उकासिँदै गएको छ । मोरङको मधुमल्ला, उर्लाबारी, मङ्गलबारे, लेटाङ भोगटेनीलगायत एक दर्जनभन्दा बढी ठाउँमा प्रशोधन केन्द्रहरु सञ्चालित छन् । मोरङको लेटाङ, उर्लाबारी, जाँते, मधुमल्ला, डाँगीहाट, बेलबारी, भोगटेनीलगायतका स्थानमा बढी मात्रामा सुपारीखेती गरिँदै आइएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार मोरङमा ८ सय हेक्टरमा सुपारीको व्यावसायिक खेती भइरहेको छ । स्थानीयण्स्तरमा सहकारी नै स्थापना गरेर किसानले सुपारी प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हो । मोरङको मङ्गलबारेस्थित सोल्टी खोलाछेउमा दुईकट्ठा जग्गा भाँडामा लिएर रामबाबु चौधरीले सञ्चालन गर्दै आएको प्रशोधन केन्द्रमा दैनिक ३० देखि ३५ जना महिलाले रोजगारी पाइरहेका छन् ।

चौधरीले उर्लाबारी वरिपरिकै किसानको सुपारी बोट भएकै ठाउँमा गएर किन्ने र प्रशोधन गरी बेच्ने गरेको बताउँछन् । प्रशोधित सुपारी भारतीय बजारसम्म पुग्ने गरेको छ । समुन्द्र सतहदेखि एक हजार दुई सय मिटरको उचाइसम्म १४ देखि ३६ डिग्री सेल्सियस तापक्रम भएको पानी नजम्ने र धेरै सुख्खा पनि नहुने भू–बनोट सुपारीखेतीका लागि उपयुक्त मानिन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *