मेलम्ची आयोजना: स्थानीयवासीको आफ्नै पीडा

Post Date : June 9, 2017 | 9:25 am

मेलम्ची, २६ जेठ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना काठमाडौँवासीका लागि उत्साहको विषय बने पनि स्थानीयवासीको आफ्नै पीडा छ ।

आयोजनाको हेलम्बु गाउँपालिका–१ अम्बाथान सुरुङ प्रवेशद्वार नजिकैका स्थानीयलाई सुरुङ निर्माणका क्रममा भित्रबाट निकालिएको माटोढुङ्गालाई जथाभावी खोलामा फाल्न थालिएपछि त्रास बढेको छ ।

सुरुङबाट निस्किएको माटोढुङ्गा (मकिङ) ठेकेदार कम्पनी सिएमसीले जथाभावी खोलामा फाल्न थालेको छ । यसरी मकिङ खोलामा फाल्न थालेपछि त्यस वरपरका बासिन्दा बर्खामा खोला थुनिएर बगाउला कि भन्ने त्रासमा छन् । स्थानीयवासी आशा गुरुङको सुरुङबाट निस्किएको माटोढुङ्गाको थुप्रोले घरै पुरिने खतरा रहेको बताउनुहुन्छ ।

सुरुङ निर्माणको काम छिटोे सक्ने बहानामा ठेकेदार कम्पनी सिएमसीले अव्यवस्थित रुपमा खोलाको मध्य भागसम्म पुग्नेगरी माटोढुङ्गाको पहाड बनाएको छ । यसरी बनेको पहाडमा बर्खामा आउने बाढीले खोला थुनिए किउल, ग्याल्थुम, तालामाराङ र मेलम्चीका स्थानीयवासीलाई प्रभावित गर्नेछ ।
आयोजनाका कारण घरमै पुरिएर मरिने भन्ने त्रास रहेको स्थानीयवासी निमा लामा शेर्पा बताउनुहुन्छ ।

सुरुङ निर्माणस्थलबाट निस्केका माटोढुङ्गाको उचित व्यवस्थापनको विषयमा स्थानीयस्तरबाट पनि आवाज उठेका छन् तर हेलम्बु गाउँपालिका–१ को वडाध्यक्षमा नवनिर्वाचित मिङमार लामासहितको टोलीलाई आयोजनाले सुङङभित्र जान दिएको थिएन । वडाध्यक्ष लामा भन्नुहुन्छ, ‘स्थानीयवासीलाई आयोजनाका कारण उत्पन्न त्रास हटाउन ठेकेदार पक्ष गम्भीर हुनुपर्छ । त्यसका लागि सबै लाग्न आवश्यक छ ।’ (आदित्य दाहाल) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *