मोहोरमा किनेको बस्तीमा आर्थिक विकासका लागि घरवास कार्यक्रम

Post Date : June 4, 2017 | 3:29 pm

पोखरा, २१ जेठ । झट्ट सुन्दा अचम्म लाग्नसक्छ, कास्कीको अन्नपूर्ण गाउँपालिका– ८ स्थित मोहोरिया १७ औँं शताब्दीतिर एक मोहोर (५० पैसा) मा किनेर बसाइएको बस्ती हो ।

मोहोरमा किनिएको बस्ती भएका कारण मोहोरिया नाम रहेको माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखमा अवस्थित यो गाउँमा आयआर्जन बढाउँदै स्वरोजगार अभिवृद्धि गर्नका लागि स्थानीयवासी यतिखेर घरवास कार्यक्रम(होम स्टे) सञ्चालनमा जुटेका छन् ।

स्थानीय समाजसेवी एवम् उमा माध्यमिक विद्यालयका प्राचार्य बुद्धिबहादुर गुरुङका अनुसार पर्याप्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको मोहोरिया गाउँको विकासका लागि घरवास कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

माछापुच्छ्रे तथा अन्नपूर्ण हिमालको मनमोहक दृश्य सहित वरपरका उच्च पहाडी दृश्यको अवलोकन गर्दै स्थानीय संस्कृति तथा भेषभुषाको अध्ययन तथा अनुसन्धानका लागि पनि मोहोरिया गाउँ उत्कृष्ट बन्न सक्ने उहाँको दावी छ ।

“लगभग १७ औं शताव्दी तिर गुरुङजातीका वीरेनेगीकोने भन्ने व्यक्तिको जिजुले एक मोहोरमा जग्गा किनेर यहाँको वस्ती बसाएका कारण यो गाउँको अस्तित्व प्राचीन समयदेखि नै रहेको पाइन्छ,” उहाँले भन्नुभयो, “यो वस्तीको नजिकै वाङवाङ भन्ने ठाउँ पनि छ, वाङवाङ मगर भाषाको शव्द भएका कारण तत्कालिन अवस्थामा मगरहरूसँग नै यहाँको जग्गा किनिएको हो की भन्ने हाम्रो अनुमान छ ।”

मोहोरिया गाउँ भएर जाने विभिन्न पदमार्गको विकास तथा विस्तार गर्न सकिने भएकोले यहाँ घरवास पर्यटनको विकास गर्न सकिने धेरै सम्भावना देखेर नै आँफूहरू त्यसतर्फ जुटेको उहाँले बताउनुभयो ।

गुरुङका अनुसार यी पदमार्गबाट माछापुच्छ्रे तथा अन्नपूर्ण हिमालका दृश्य सहित सूर्योदय, पोखराको फेवाताल, बाकोट बराह, मोहोरिया गाउँ, बीरेठाँटी, विभिन्न बन्यजन्तु, तमु गाउँ आदिको एकसाथ अवलोकन गर्न सकिने भएकोले मोहोरिया गाउँमा पर्यटनको विकाससँगै आर्थिक रुपमा समुन्नत बनाउने धेरै सम्भावना छन् ।

अधिक रुपमा गुरुङ जातीको वसोवास रहेको यस गाउँमा हाल ५२ घर छन् ।

अर्का स्थानीय समाजसेवी तीलबहादुर गुरुङ विभिन्न लेकाली प्रजातीका बन्यजन्तुका साथै चराचरहरू मोहोरिया आसपासका बनजंगलमा पाइने बताउनुभयो ।

प्राकृतिक दृश्यावलोकनका साथै गुरुङ जातीका जीवन्त संस्कृतिको अध्ययनका लागि पनि मोहोरिया उत्कृष्ट गाउँका रुपमा विकास गर्न सकिने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

मोहोरिया गाउँमा प्राचीन बाकोट बराह, मेश्रम बराह, कोट मौलो, शिवालयजस्ता धार्मिक संस्कृतिका महत्वपूर्ण पक्ष पनि छ ।

गाउँमा आउने जो कोही पर्यटकलाई मोहोरियावासीले हार्दिकताका साथ स्वागत सत्कार गर्नु यहाँको विशष्टिता रहेको अर्की स्थानीय समाजसेवी परमाया गुरुङले उल्लेख गर्नुभयो ।

गाउँमा आउने पर्यटकले गाउँ पाखामा पाइने निउरो, कुरिलोजस्ता वस्तुका साथै स्थानीय प्राङगारिक उत्पादनका परिकारको स्वाद चाख्न पाउँछन् ।

मोहोरिया गाउँ भएर जाने यहाँका पदमार्गको विकास गर्दै पर्यटकलाई एक दिन यस गाउँमा राख्न सकिने सम्भावना रहेको ग्रामिण पर्यटन प्रवद्र्धन मञ्च(भिटोभ) कास्कीका अध्यक्ष तारानाथ पहारीले बताउनुभयो ।

“पर्यटकीय सम्भावना भएका टाढाका गाउँमा पर्यटक पुरयाउनका लागि पदमार्गले छुनु आवश्यक छ,” पहारीले भन्नुभयो, “पदमार्गले छुन सकेमा कमसेकम न्युनतम एक दिन पर्यटकलाई उक्त गाउँमा राख्न सकिन्छ ।”

घरवास कार्यक्रम प्रवद्र्धनका लागि यस वर्षको ६७ औं अन्नपूर्ण आरोहण दिवस पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थितिमा मोहोरिया गाउँमा मनाइएको ट्रेकिङ एजेन्सिज एशोसिएसन नेपाल,पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपक अधिकारीले बताउनुभयो ।

मोहोरियाको सम्भावनालाई उजागर गर्न गाउँ भएर जाने पदमार्गको विकास तथा विस्तारलाई संघका तर्फबाट सक्दो पहल गर्ने र योसँगै यहाँको घरवास कार्यक्रम सफल बन्ने विश्वास लिइएको उहाँले उल्लेख गर्नुभयो ।

मोहोरिया गाउँ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)को संरक्षित क्षेत्र भित्र पर्ने भएका कारण यहाँको विकास एक्यापको प्राथमिकतामा पर्ने गरेको एक्यापकी पर्यटन अधिकृत रश्मी आचार्यको भनाइ छ ।

“घरवास पर्यटनको व्यवस्थापन एवम् विकासका लागि एक्यापबाट स्थानीयवासीलाई तालिम दिने तयारी गरिएको छ,” उहाँले भन्नुभयो, “ यहाँ भएर जाने पदमार्गलाई व्यवस्थित गर्ने विषय पनि हाम्रो प्राथमिकतामा छ ।”

पर्यटन सम्बद्ध संघ संस्थासँगको सहकार्यमा मोहोरिया र आसपासका गाउँमा घरवास पर्यटनको विकास तथा विस्तारका साथै यहाँका सम्भावित पदमार्गलाई व्यवस्थित गरी सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिका तयार रहेको गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष युवराज कुँवरले बताउनुभयो । (वासुदेव पौडेल) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *