युवा सम्मेलन आयोजना हुने

Post Date : June 10, 2016 | 1:12 pm

काठमाडौँ, २८ जेठ । युवाको क्षमता अभिवृद्धि गर्दै उनीहरुलाई उद्यमशील बनाउन उत्प्रेरित गर्ने उद्देश्यले युवा सम्मेलन आयोजना हुने भएको छ ।

राष्ट्रिय युवा परिषद् र गैरआवासीय नेपाली सङ्घद्वारा संयुक्त रुपमा अगामी असोज १५ देखि १७ गतेसम्म काठमाडौँमा आयोजना हुने सो सम्मेलनमा युवाका चौतर्फी विकासका लागि तत्कालीन र दीर्घकालीन रणनीतिसमेत तय गर्नेछ ।

स्वदेशभित्रै युवालाई रोजगारीको अवसर सिर्जना गर्न, उनीहरुको क्षमता अभिवृद्धि गर्न र भूकम्पपछिको पुनःनिर्माणमा थप युवा सहभागिता गराउन सम्मेलन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । सम्मेलनका बारेमा जानकारी दिन आज आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार सम्मेलनमा स्वदेश र विदेशका गरी करिब पाँच सय प्रतिनिधिको सहभागिता रहनेछ ।

पत्रकार सम्मेलनमा परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले नेपाली युवालाई उद्यमशीलताका लागि प्राविधिक र आर्थिक सहयोग गर्ने वातावरण तयार गर्न सम्मेलन महत्वपूर्ण हुने बताउनुभयो । उहाँले पुनःनिर्माणका युवा सहभागिताका लागि सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा युवा सशक्तीकरणका लागि विज्ञद्वारा कार्यपत्र, अवधारणापत्र प्रस्तुत गरिनुका साथै विषयगत क्षेत्रसित सम्बन्धित रही विषयगत छलफलसमेत हुनेछ ।

सम्मेलनका क्रममा नेपाली युवा उद्यमीका अनुभव, उनीहरुले उत्पादन गरेका वा आविष्कार गरेका वस्तुहरु उपकरण तथा सामग्रीको प्रदर्शनी कक्षसमेत रहने छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *