राष्ट्रिय व्यावसायिक पहलको सम्मेलन शुरु

Post Date : August 3, 2017 | 4:35 pm

काठमाडौँ, १९ साउन । राष्ट्रिय व्यावसायिक पहलको दोस्रो जिम्मेवार व्यावसायिक सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको छ ।

व्यावसायिक जिम्मेदारीको भूमिका निर्वाह गरी सभ्य समाज निर्माणमा व्यवसायीले अपनाउनुपर्ने उपायबारे सम्मेलनमा छलफल हुनेछ । सम्मेलनको सहजकर्ताका रुपमा त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय रहेका छन् भने दर्जनभन्दा बढी व्यापारिक कम्पनीको साझेदारिता रहेको छ ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा रामकुमार मकाजु श्रेष्ठले जिम्मेवार व्यवसाय र जिम्मेवार समाज निर्माणका लागि व्यवसायी र सरकारबीच समन्वय र सहकार्यको खाँचो औँल्याउनुभयो । उहाँले व्यापार सफलताका लागि लगानीकर्ताका सफलताका कथाबाट सिक्न सकिने भन्दै त्यसका लागि सामाजिक उत्तरदायित्व र प्रतिबद्धता आवश्यक छ भन्नुभयो ।

राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष पद्म ज्योतिले असल समाज निर्माणका लागि व्यावसायिक दायित्वलाई अझ प्रभावकारी बनाउन सम्मेलन उपयोगी हुने बताउनुभयो । उहाँले अब पालो अधिकारको नभई जिम्मेवारीको रहेको बताउँदै जिम्मेवार व्यवसायीले आदर्श र जिम्मेवार समाज निर्माणमा योगदान पुऱ्याउनुपर्नेमा जोड दिनुभयो ।

संस्थाका उपाध्यक्ष कुशकुमार जोशीले सफल समाज निर्माणका लागि सफल र जिम्मेवार व्यवसायी हुनुपर्छ भन्ने ध्येयका साथ सम्मेलन व्यावसायिक सीप र लगानीको जिम्मेवारीलाई सामाजिक क्षेत्रमा अभिप्रेरित गर्न उपयोगी हुने बताउनुभयो ।

सम्मेलनमा छिमेकी मुलुक भारत, चीन, सिंगापुरलगायत अन्तर्राष्ट्रिय प्रतिष्ठित व्यवसायी, विज्ञ, अनुसन्धानकर्ताको जमघट रहेको छ । दुईदिने सम्मेलनमा विभिन्न विषयमा ख्यातिप्राप्त व्यवसायीले १६ वटा कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *