रु साढे चार अर्ब कर्जा प्रवाह

Post Date : August 9, 2016 | 2:45 pm

बाबियाचौर (म्याग्दी), २५ साउन । जिल्लामा गत आवमा बैङ्क तथा वित्तीय संस्थामार्फत रु साढे चार अर्ब कर्जा प्रवाह भएको छ ।

सदरमुकाम बेनी, दरवाङ, बाबियाचौर र भुरुङ तातोपानीमा शाखा रहेका विभिन्न बैङ्क तथा वित्तीय संस्थाको लगानीसँगै निक्षेप सङ्कलन र मुनाफा पनि बढेको छ । व्यापार, व्यवसाय, घरजग्गा, वैदेशिक रोजगार, कृषि, पशुपालन, होटल तथा रेस्टुराँलगायतका क्षेत्रमा बैङ्किङ तथा वित्तीय संस्थाले लगानी गरेका हुन् ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार आव २०७१/७२ मा जिल्लामा बैङ्किङ लगानी रु दुई अर्ब ६८ करोड रहेको थियो । गत आवमा बैङ्किङ लगानी बढेर रु चार अर्ब ४५ करोड पुगेको छ । बैङ्क तथा वित्तीय संस्थाका जिल्लास्थित शाखाले उपलब्ध गराएको तथ्याङ्कअनुसार निक्षेप सङ्कलनको तुलनामा कर्जा लगानी बढी छ । गत आवमा निक्षेपभन्दा रु सत्तरी करोड बढी कर्जा लगानी भएको छ ।

यसैगरी जिल्लास्थित बैङ्कका शाखाले गत आवमा रु तीन अर्ब ७६ करोड निक्षेप सङ्कलन गरेका छन् । अघिल्लो आवमा जिल्लामा बैङ्क तथा वित्तीय संस्थाले रु दुई अर्ब २१ करोड निक्षेप सङ्कलन गरेका थिए । आव २०७१/७२ मा रु २० करोडको हाराहारीमा मुनाफा गरेका म्याग्दीस्थित बैङ्क तथा वित्तीय संस्थाका शाखाले गत आवमा रु २२ करोड ९० लाख नाफा गरेका बताइएको छ ।

ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्नु, लगानीको दायरा फराकिलो बनाउनु, राष्ट्र बैङ्कले क्षेत्रनै तोकेर निश्चित प्रतिशत लगानी गर्नुपर्ने नीतिगत व्यवस्था गर्नु र सर्वसाधारणको बैङ्किङ सेवाप्रतीको आकर्षणले लगानी बढेको राष्ट्रिय वाणिज्य बैङ्कको बेनी शाखाका प्रबन्धक धु्रवराज पनेरुले बताउनुभयो ।

तेह्र वटा बैङ्कको २० वटा शाखा रहेको जिल्लाका करिब ४० हजार नागरिकले बैङ्कमा खाता खोली कारोबार गरिरहेका छन् । दरवाङमा वाणिज्य बैङ्क र ताकमको शिवाङबाट ग्लोबल आइएमई बैङ्कले शाखारहित बैङ्किङ सेवा प्रवाह गरेका छन् । गरिमा विकास बैङ्कको बेनी, बाबियाचौर, दरवाङ र भुरुङ तातोपानीमा शाखा छन् । प्रभु बैङ्कले बेनी र दरवाङ शाखाबाट सेवा दिँदै आएको छ ।

सरकारी स्वामित्वका नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य र कृषि विकाससहित माछापुच्छ्रे, सिटीजन्स, ग्लोबल आइएमई, बैङ्क अफ काठमाडाँै, लुम्बीनी बेनीमा शाखा सञ्चालन गरेका वाणिज्य बैङ्क हुन् । यसैगरी कैलाश, काष्ठमाण्डप, ग्रिन र फेवा विकास बैङ्क तथा पश्चिमाञ्चल फाइनान्स कम्पनीको बेनीमा शाखा छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *