रोजगार व्यवसायीको आन्दोलन फिर्ता, भिसा प्राप्त गरेका १५ हजार कामदार विदेश जान पाउने भए

Post Date : March 30, 2016 | 11:47 am

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनका कार्यक्रम आंशिक रुपमा फिर्ता लिएको छ ।

श्रम तथा रोजगार मन्त्रालयले ५ सदस्यीय वार्ता टोली गठन गरेर वार्तामा बोलाएको भोलिपल्ट संघले आन्दोलनका कार्यक्रम आंशिक रुपमा फिर्ता लिएको हो । डेढ दर्जन म्यानपावर कम्पनीमा प्रहरीले छापा मारेको विरोधमा संघको आव्हानमा गत फागुन २२ गतेदेखि म्यानपावर कम्पनीहरुले कामदारहरुको पूर्व तथा अन्तिम श्रम स्वीकृति लिने काम बन्द गरेका थिए । संघले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गरी वार्तामार्फत समस्याको समाधान गर्ने श्रम तथा रोजगार मन्त्रालयको पत्रलाई सकारात्मक रुपमा लिई अन्तिम श्रम स्वीकृति लिने काम खुला गर्ने निर्णय गरेको जानकारी दिएको छ । संघका अध्यक्ष विमल ढकालले श्रम तथा रोजगारमन्त्री दिपक बोहोराले वार्तामार्फत समस्याको समाधान गर्ने प्रतिबद्धता जनाइ वार्ता समिति नै गठन गरेकाले आफूहरुले केही दिनका लागि अन्तिम श्रम स्वीकृति लिने कार्य खुला गर्ने निर्णय गरेको बताउनुभयो ।

संघको यो निर्णयसँगै भिसा प्राप्त गरेर विदेश जानबाट रोकिएका करिब १५ हजार कामदारलाई रोजगारीका लागि विदेश जाने बाटो खुलेको छ । संघले पूर्व स्वीकृति लिने काम बन्द गर्ने निर्णय भने फिर्ता लिएको छैन । अध्यक्ष ढकालले सरकारी वार्ता टोलीसँग हुने वार्ताका आधारमा पूर्व स्वीकृतिका बारेमा निर्णय लिइने बताउनुभयो । संघले सरकारसँग वार्ताका लागि अध्यक्ष ढकालको संयोजकत्वमा महासचिव रोहन गुरुङ तथा व्यवसायीहरु प्रेम कटवाल, बलबहादुर तामाङ र दिलप्रसाद पोखरेल सदस्य रहेको पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ ।

One thought on “रोजगार व्यवसायीको आन्दोलन फिर्ता, भिसा प्राप्त गरेका १५ हजार कामदार विदेश जान पाउने भए

Leave a Reply

Your email address will not be published. Required fields are marked *