रोपवेले ढुवानीमा सहज

Post Date : June 8, 2016 | 4:54 pm

वालिङ, २६ जेठ । जिल्लाको जगतभञ्ज्याङमा निर्माण गरिएको पित्लेक खहरे ग्राभिटी रेपवे सञ्चालन भएसँगै किसानलाई ढुवानीमा सहज भएको छ ।

नेपाल सरकार कृषि विकास मन्त्रालय व्यवसायिक कृषि तथा व्यापार आयोजनाको रु २४ लाख ४५ हजार तथा स्थानीयवासीको जनश्रमदान रु ३१ लाख ६० हजार लगानिमा पित्लेक खहरे ग्राभिटी रोपवेको निर्माण गरिएको हो ।

जगतभञ्ज्याङ गाविसको पाडेथोकदेखि वालिङ– ८ को खहरेसम्म करिब ८५४ मिटर लम्बाइको उक्त बिना विद्युतीय ग्राभिटी रोपवेको भारबहन क्षमता १२० किलो रहेको छ । उक्त रोपवेबाट जगतभञ्ज्याङ गाविसका ७२ व्यावसायिक किसान तथा अन्य गरी कूल १५५ घरधुरी लाभान्वित भएका छन् ।

जनकल्याण किसान उपभोक्ता सहकारी संस्थाका व्यवस्थापक हुमनाथ लामिछानेका अनुसार तरकारी खेती गर्दैआएका ७२ परिवारले उक्त सेवाबाट लाभ लिँदै आएका छन् । रोपवे निर्माण हुनु अघि यहाँ उत्पादन भएको तरकारीलाई दुई घण्टा समय लगाएर डोकोमा बोकी बजारसम्म पु¥याउनुपर्ने बाध्यता रहेको थियो । “अहिले एक मिनेटमै सङ्कलन केन्द्रसम्म तरकारी पु¥याउन सकिने भएको छ,” उहाँले भन्नुभयो ।

अहिले गाउँमा मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल उत्पादन हुने गरेको छ । स्थानीय किसान रामप्रसाद लामिछाने बिना विद्युतीय ग्राभिटी रोपवेले किसानको समयको बचत भएको बताउनुहुन्छ । “तरकारी बिग्रिने समस्या समाधान भएको छ,” उहाँले भन्नुभयो ।

रोजगारीको सिलसिलामा केही युवा विदेशिएका भए पनि अहिले उनीहरु गाउँमै तरकारी खेती गर्न थालेका जनकल्याण किसान सहकारी संस्थाका अध्यक्ष निलकण्ठ लामिछा बताउनुहुन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *