लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

Post Date : July 29, 2016 | 5:18 pm

काठमाडौँ, १४ साउन । काठमाडौँ महानगरपालिकाले यस वर्ष विज्ञापन करमा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ ।

गत आवमा विज्ञापन करमा लक्ष्यभन्दा ४१३ प्रतिशतले प्रगति गरेको महानगरपालिकाका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो । रु ५० हजारमात्र विज्ञापन करका लागि लक्ष्य लिएकामा रु दुई करोड ६३ लाख सात हजार राजस्व सङ्कलन गर्न सफल भएको उहाँले बताउनुभयो ।

आव २०७१÷७२ मा विज्ञापन करमार्फत रु ६२ लाख राजस्व असुल गरेको थियो । नियम विपरीत विभिन्न स्थानमा राखिएका होर्डिङबोर्ड हटाउने र नियममा रही विज्ञापन राख्न कडा गरेपछि विज्ञापन कर असुलीमा वृद्धि भएको हो । सबैभन्दा कम मनोरञ्जन करमा रु २५ लाख लक्ष्य रहेकामा रु चार हजार ८५० मात्र आम्दानी गरेको छ ।

त्यसैगरी घरजग्गा करमा लक्ष्यको ९४ प्रतिशत, मालपोतमा १०१, घरबहाल करमा ८८, वार्षिक सवारी करमा ३३, व्यवसाय करमा १०९ र सिफारिस दस्तुरमा १९५ प्रतिशत लक्ष्यअनुरुपको प्रगति हासिल गरेको छ । अघिल्लो आवमा रु एक अर्ब ४६ करोड राजस्व सङ्कलनको लक्ष्य राखेको महानगरपालिकाले रु एक अर्ब ११ करोड ९९ लाख रकम असुल गरेको थियो । गत आवका लागि रु एक अर्ब ५८ करोड २० लाख लक्ष्य रहेकामा रु एक अर्ब ४३ करोड १८ लाख ४८ हजारमात्र रकम असुल गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *