लघु जलविद्युत् व्यवसायीको सम्मेलन सुरु

Post Date : November 22, 2016 | 4:24 pm

काठमाडौँ, ७ मङ्सिर । दक्षिण तथा दक्षिण पूर्वी एसियाका लघु जलविद्युत् व्यवसायीको संस्था ‘हाइड्रो इम्पावरमेन्ट नेटवर्क’को तेस्रो वार्षिक सम्मेलन तथा कार्यशाला गोष्ठी आजदेखि यहाँ सुरु भएको छ ।

नेपाल लघु जलविद्युत् विकास संस्थाको आयोजनामा भएको चारदिने उक्त सम्मेलनको जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले उद्घाटन गर्नुभयो ।

सम्मेलनमा दक्षिण तथा दक्षिण पूर्वी एसियाका नेपालसहित भारत, बङ्गलादेश, अफगानिस्तान, श्रीलङ्का, पाकिस्तान, इन्डोनेसिया, लाओस, मलेसिया, बर्मा, फिलिपिन्स, थाइल्यान्डका १२ देशका करिब ५० लघु जलविद्युत् व्यवसायीको सहभागिता रहेको छ ।

सम्मेलनमा प्रत्येक देशका कम्तीमा एकदेखि बढीमा पाँच लघु जलविद्युत्सम्बन्धी संस्थाको सहभागिता छ । नेपालका तर्फबाट आयोजक लघु जलविद्युत् विकास संस्थासँगै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, इन्जिनियरिङ डेभलपमेन्ट नेपाल, रिजनल सेन्टर फर एक्सलेन्स माइक्रो हाइड्रो र प्रेक्टिकल एक्सन साउथ एसियाले भाग लिएका छन् । कार्यक्रमअनुसार बुधबार हुने नेपाल विशेषमा यहाँ भएका लघु जलविद्युत्बारे छलफल हुने आयोजकको भनाइ छ ।

कार्यक्रममा मन्त्री जोशीले विदेशबाट आएको आर्थिक सहयोगले नेपालमा जलविद्युत्को क्षेत्रमा फाइदा पुगेको बताउँदै लघु जलविद्युत् नेटवर्कमा रहेका सबै देशबीच प्राविधिक र व्यवस्थापन क्षमता आदानप्रदान गर्दै एकरुपता ल्याउनुपर्नेमा जोड दिनुभयो ।

भारतीयमूलका अमेरिकी व्यवसायी दीप्ति बेगेलाले लघु जलविद्युत्मा नेपाल अग्रणी देश भएको बताउँदै अन्य धेरै देशमा नेटवर्क विस्तार गर्न नेपालको भूमिका प्रमुख हुनुपर्नेमा जोड दिनुभयो । आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद देवकोटाले नेपालको लघु जलविद्युत्को क्षेत्रमा निजी क्षेत्रको सहभागिता अझ व्यापक बनाउने योजना रहेको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *