विज्ञापन कर उठाउने जिम्मा निजी क्षेत्रलाई

Post Date : June 22, 2017 | 4:58 pm

काठमाडौँ, ८ असार । आगामी आर्थिक वर्षदेखि काठमाडौँ महानगरपालिकाले विज्ञापन कर उठाउने जिम्मा निजी क्षेत्रलाई दिने भएको छ ।

काठमाडौँको विज्ञापन कर हालसम्म महानगरपालिकाले उठाउँदै आएकामा आगामी साउन १ गतेदेखि निजी क्षेत्रलाई दिन लागिएको महानगरका राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेले जानकारी दिनुभयो ।

जनशक्ति अभावका कारण विज्ञापन कर सङ्कलन गर्न निजी क्षेत्रलाई दिन लागिएको उहाँको भनाइ छ । महानगरपालिकाले विज्ञापन कर रु चार करोड १८ लाख न्यूनतम तोके पनि निजी क्षेत्रले रु आठ करोड ६७ सम्म दिने भएका छन् । कामनपालाई तीन क्षेत्र बनाएर कर असुली गर्न लागेकाले सबैभन्दा बढी तिर्ने तीनवटा कम्पनीलाई ठेक्कामा दिने तयारी महानगरले गरेको छ ।

ठेक्कामा लिने कम्पनीले महानगरभित्र सबै स्थानको कर सङ्कलन गर्ने छन् । आगामी आवमा रु आठ करोड ६७ लाख वार्षिक रुपमा महानगरपालिकालाई उपलब्ध गराउने छ । आगामी आवमा ठेक्कासहित अनुमानित रु नौ करोड ३५ लाख विज्ञापन कर सङ्कलन हुने महानगरले अनुमान गरे पनि चालु आवको वैशाखसम्म रु छ करोड ५५ लाख विज्ञापन कर असुली गरिसकेको छ ।

काफ्लेका अनुसार सार्वजनिक निजी साझेदारीअन्तर्गत सञ्चालनमा रहेका स्थानमा महानगरपालिका आफैले कर उठाउने छ । बसपार्क, सोलार प्यानल, आकासे पुललगायत स्थानको विज्ञापन कर भने कामपाले नै उठाउने छ । पछिल्लो समय कामनपाले विज्ञापन कर सङ्कलनमा उल्लेख्य मात्रामा सुधार ल्याएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *