वित्तीय सहकारीको ऐन नियम परिमार्जन गर्नुपर्ने

Post Date : July 10, 2016 | 6:24 pm

काठमाडौँ, २६ असार । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले समयानुकूल वित्तीय सहकारीको ऐन नियम परिमार्जन गर्नुपर्ने माग गरेको छ ।

सिजेएनले यहाँ आज अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी वित्तीय सहकारीको अनुगमन र नियमनका लागि बनेका ऐन नियम परिमार्जन गर्नुपर्ने माग गरेको हो ।

सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको उक्त कार्यक्रममा सिजेएनले विभिन्न पत्रपत्रिकामा प्रकाशित सहकारीसम्बन्धी समाचारलाई आधार बनाएर तयार पारेको प्रतिवेदन प्रस्तुत गर्दै मन्त्रालयले सहकारीलाई नीति निर्देशन पालना गराउन प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दियो ।

सिजेएनका अध्यक्ष डिल्ली सापकोटाले दैनिक पत्रपत्रिकाले सहकारी क्षेत्रमा भए÷गरेका विभिन्न नकारात्मक घटनालाई उजागर गरेको बताउँदै नीति, ऐन तथा नियमावलीमा सहकारीसम्बन्धी नीति स्पष्ट नहुँदा ठगीका घटना बढेको छ भन्नुभयो ।

उहाँले सहकारी सङ्घसंस्थामा राजनीति बढी हाबी भएको बताउँदै यस क्षेत्रमा प्रवद्र्धनात्मक कार्यक्रम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अङ्गका रुपमा रहेको सहकारीको गुणात्मक विकासमा जोड दिने कार्यक्रमलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले सहकारी क्षेत्रका नकारात्मक र सकारात्मक दुवै पक्षका समाचार मिडियाले प्रकाशन÷प्रसारण गरिदिने हो भने जनमानसमा यससम्बन्धी सचेतना बढ्नेछ भन्नुभयो ।

सहसचिव सुरेश प्रधानले सहकारीको विकास हुनु भनेकै हामी सबैको विकास हुनु हो भन्ने सोचका साथ सबैले सहकारी क्षेत्रलाई पारदर्शी, स्पष्ट र जिम्मेवार बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपालमा करिब ३२ हजारभन्दा बढी सहकारी सञ्चालनमा रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *