विप्रेषण आयमा ह्रास: आर्थिक वृद्धिमा चिन्ता

Post Date : June 15, 2016 | 4:53 pm

काठमाडौँ, १ असार । विश्व बैंकले भूकम्पपछि अत्यावश्यक वस्तुको आपूर्तिमा भएको अवरोधले थलिएको नेपालको अर्थतन्त्र विप्रेषण आयमा आएको ह्रासले आर्थिक वृद्धिमा नकारात्मक असर पार्ने चिन्ता व्यक्त गरेको छ ।

विश्व बैंक समूहले आज यहाँ ‘नेपालको विकास अद्यावधिक’ प्रतिवेदन सार्वजनिक गर्दै कुल गार्हस्थ्य उत्पादनमा झन्डै ३० प्रतिशतले योगदान हुँदै आएको विप्रेषण आय घट्दा अर्थतन्त्रमा प्रभाव पर्ने जनाएको हो ।

यहाँस्थित उक्त बैंकका देशीय प्रबन्धक ताकुया कामाताले भन्नुभयो– “भूकम्प र नाकाबन्दीका जोडदार झड्काले नेपालको अर्थतन्त्रलाई ठूलो असर गरयो, भैँचालोपछि विदेशिने कामदारको सङ्ख्यामा पनि क्रमशः ह्रास हुँदै गएको छ ।” आन्तरिक एवम् बाह्य कारण विदेशिने नेपाली श्रमिकको सङ्ख्यामा अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले कमी आएको तथ्य प्रस्तुत गर्दै उहाँले नेपालको विप्रेषण आय जोखिममा रहेको बताउनुभयो ।

भूकम्पपछिको पुनःनिर्माणमा लाग्न श्रमिक स्वदेशमै बसेका र रोजगारी दिने मुलुकको नीतिगत व्यवस्था एवम् अन्य कारणले नेपालीको विदेशिने क्रम घटेको कामाताको भनाइ छ । विप्रेषण आयका जोखिम उपयुक्त मौद्रिक एवम् वित्तीय नीतिमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उहाँले वित्तीय क्षेत्रको सवल अनुगमन पनि उत्तिकै अपरिहार्य हुने बताउनुभयो ।

बँैंकले नेपालको आगामी वर्षको आर्थिक वृद्धि ४.७ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ भने पुँजीगत खर्च वृद्धिमा विशेष जोड दिएको छ । साथै प्रतिवेदनले आर्थिक गतिविधिको विविधीकरण गर्नुपर्ने सुझाव दिएको छ ।

कृषि, उद्योग र सेवा क्षेत्रमा सकारात्मक प्रगति हुने अपेक्षा गर्दै प्रतिवेदनमा राजनीतिक स्थायित्वसँगै पुनःनिर्माणका कामले गतिलिएमा आर्थिक वृद्धिमा बढोत्तरी हुने प्रक्षेपण गरेको छ । मूल्यवृद्धि नौ प्रतिशत पुग्ने प्रक्षेपण पनि प्रतिवेदनले गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *