वीरगञ्ज भन्सारमा एक सय एक प्रतिशत राजश्व असुली

Post Date : July 19, 2017 | 3:08 pm

वीरगञ्ज, ४ साउन । वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७३/७४ मा १०१ प्रतिशत राजश्व असुली गरेको छ ।

गत आवमा रु एक खर्ब सात अर्ब ११ करोड ३१ लाख ६३ हजार राजश्व संकलनको लक्ष्य राखेकामा रु एक खर्ब आठ अर्ब १० करोड ७७ लाख ८७ हजार राजश्व उठाउन सफल भएको छ ।

कार्यालयले मुख्य रुपमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तः शुल्कतर्फ बढी राजश्व उठाएको कार्यालयका सूचना अधिकारी सन्तोष यादवले बताउनुभयो । डिजेल र पेट्रोलमा कार्यालयले रु १० अर्ब राजश्व संकलन गरेको छ ।

सिमेन्टको कच्चापदार्थ क्लिङ्करमा रु तीन अर्ब ३८ करोड र एलपी ग्यासमा रु दुई अर्ब नौ करोड संकलन भएको छ ।

कार्यालयलाई करिब ४० प्रतिशत राजश्व भारतीय गाडीको निकासीबाट आउने गरेको छ । गत आवमा एक लाख १४ हजार थान मोटरसाइकल, आठ हजार थान कार, १७ हजार थान बस र ट्रक र एक हजार ६३३ थान ठूला ट्रक नेपाल भित्रिएका थिए ।

भन्सारले आव २०७१/७२ मा रु ९१ अर्ब राजश्व उठाउने लक्ष्य राखेकामा रु ९८ अर्ब संकलन गरेको थियो । आव २०७२÷७३ मा रु ७१ अर्ब राजश्व असुली गर्ने लक्ष्य लिएकामा रु ५५ अर्ब मात्र संकलन भएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *