वैदेशिक व्यापारमा छ प्रतिशतले कमी

Post Date : July 1, 2016 | 6:17 pm

काठमाडौँ, १७ असार । नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा ५.७ प्रतिशतले ह्रास आर्ई रु ७४१.७७ अर्ब रहन गएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याङ्कअनुसार आव २०७२/७३ को ११ महिनाको कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ८.२ प्रतिशत र ९१.८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी २३.१ प्रतिशतले ह्रास आई रु ६०.८२ अर्ब तथा कुल पैठारीमा ३.८ प्रतिशतले ह्रास आई रु ६८०.९५ अर्बमा सीमित हुन पुगेको छ ।

उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा ऊनी गलैँचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादन, हस्तकलाका सामान, चाउचाउ, टुथपेस्ट, अलैँची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पस्मिना सल, जडीबुटी आदि प्रमुख रहेका छन् ।

नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत, टर्की, चीन, जापान, फ्रान्स, इटाली, क्यानडा, बङ्गलादेश, अस्ट्रेलिया, नेदरल्यान्ड्स र भियतनाम रहेका छन् । त्यस्तै पैठारी व्यापारमा भारत, चीन, युएई, इन्डोनेसिया, स्विट्जरल्यान्ड, थाइल्यान्ड, संयुक्त राज्य अमेरिका, अर्जेन्टिना, क्यानडा, फ्रान्स, मलेसिया, जापान, साउदी अरेबिया र भियतनाम आदि प्रमुुख रुपमा रहेका छन् ।

नेपालको व्यापारिक साझेदारहरुमध्येको प्रमुख साझेदार भारततर्फको निर्यात तथा आयातमा क्रमशः ३३.७ प्रतिशत र ६.२ प्रतिशतले ह्रास आएको देखिन्छ । परिणामतः आव २०७२/७३ को ११ महिनाको अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.३ प्रतिशतले ह्रास आई नेपालको कुल व्यापार घाटा रु ६२०.१३ अर्बमा सीमित हुन गएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *