व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशन सुरु, पाँच मिनेटमा बैठक समाप्त

Post Date : May 3, 2016 | 2:53 pm

व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशन सुरु,
पाँच मिनेटमा बैठक समाप्त

काठमाडौँ, २१ वैशाख । व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशन संसद् भवन नयाँ बानेश्वरमा आजदेखि सुरु भएको छ ।

संसद्मा उपस्थित सबै सांसदलाई सभामुख ओनसरी घर्तीले स्वागत गर्नुभएको थियो । त्यस्तै लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका लागि सहादत प्राप्त गर्ने सहिदप्रति दुई मिनेट मौनधारणा गरिएको थियो ।

निर्धारित समय बिहान ११ बजे नै प्रारम्भ भएको बैठकमा राष्ट्रपति कार्यालयबाट संसद्को दोस्रो अधिवेशन आह्वान गरिएको सम्बन्धी पत्र सभामुखले वाचन गर्नुभएको थियो । त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिमण्डल विस्तारसम्बन्धी पत्र पढेर सुनाइएको थियो । व्यवस्थापिका–संसद् कार्यसञ्चालनसम्बन्धी नियमावली निर्माणमा दलबीच सहमति भइनसकेका कारण बैठकमा अन्य कार्यसूची समावेश भएनन् ।

संसद्को पहिलो अधिवेशनले नेपालको संविधान, २०७२ लाई जारी गरेको थियो । संविधानको कार्यान्वयन गर्ने सन्दर्भमा पहिलो अधिवेशनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको चयन निर्वाचनका माध्यमबाट गरेको थियो । पहिलो अधिवेशन गत फागुन ५ गते अन्त्य भएको थियो ।

संसद्को चालु अधिवेशनले संविधान कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण ऐनकानुन बनाउने छ । त्यस अतिरिक्त अन्य ४० विधेयक समेत संसद्मा दर्ता रहेका छन् । बजेट अधिवेशनका रुपमा परिचित बर्खे अधिवेशनमा खास गरी आगामी आव ०७३÷७४ को सरकारका नीति तथा कार्यक्रम र पूर्वबजेटमाथि सैद्धान्तिक रुपमा प्रारम्भिक छलफल हुनेछ ।

अधिवेशनका क्रममा आगामी आवको सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति मार्फत संसदमा प्रस्तुत गरिने छ । मुलुकको आर्थिक सर्भेक्षण र आगामी आवको आयव्यय (बजेट) को विवरण संविधानमा व्यवस्था भए अनुसार अर्थमन्त्रीले आगामी जेठ १५ गते यसै अधिवेशनमा प्रस्तुत गर्नु हुनेछ ।

यस अधिवेशनका क्रममा यही वैशाख २२ र २३ गते भूकम्पपछिको पुनःनिर्माण तथा डढेलो लगायत समसामयिक विषय र वैशाख २४ र २५ गते पूर्वबजेटमाथि छलफल हुनेछ । वैशाख २६ गते सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्न दलबीच सहमति भइसकेको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठक ५ मिनेट मात्र चलेको थियो । संसद्को अर्को बैठक यही वैशाख २२ गते बिहान ११ बजे बस्नेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *