व्यावसायिक च्याउखेतीतर्फ महिला आकर्षित

Post Date : February 25, 2017 | 4:04 pm

मोरङ, १४ फागुन । मोरङ पथरी शनिश्चरेका महिला अहिले व्यावसायिक च्याउखेतीतर्फ आकर्षित भएका छन् ।

च्याउखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् ।

समूह बनाएर नै उनीहरु च्याउखेती गर्दै आएका छन् । सुरुमा समूह बनाएर काम गर्नै समस्या परेको पथरी शनिश्चरे–१२ की पार्वतीदेवी यादव बताउँछन् । पाँच/पाँच जनाको समूहमा च्याउखेती सुरु गरेका उनीहरुले सुरुमा यसकोे बजार पाउन समस्या परेको भएपनि पछिल्लो यसले राम्रो बजार पाउन थालेको च्याउखेतीमा संलग्न स्थानीय रतनीदेवी यादवले बताउनुभयो ।

सुरु सुरुमा च्याउ बिक्री नभएर रु. एक सयमा प्रतिकेजी बेच्नुपरेको थियो, उहाँले भन्नुभयो – विस्तारै विस्तारै च्याउ स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने सर्वसाधारणले बुझेपछि गाउँकै हाटबजारमा प्रतिकिलो रु दुईसयमा बिक्री हुने गरेका छन् ।

गएको पुस महिनाबाट सुरु गरेको च्याउखेतीबाट अहिलेसम्म दुई क्वीन्टल भन्दा बढी बिक्री गरेको कृषक फूलावती चौधरीले बताउनुभयो ।

सुरुमा च्याउखेतीबाट फाइदा हुन्छ भन्ने विश्वास लागेको थिएन तर साथीहरुले धेरै कर गरेपछि च्याउखेती सुरु गरें, अर्का कृषक नरमाया चौधरीले भनिन् – च्याउखेतीबाट अहिले राम्रो आम्दानी हुन थालेका छन् ।

जिल्ला कृषि विकास कार्यलय मोरङका प्रमुख मनोज यादवकाअनुसार जिल्लामा २५ हजार कृषक च्याउ उत्पादनमा प्रत्यक्ष रुपमा संलग्न छन् । यसबाट वार्षिक दुई सय २० मेट्रिक टन च्याउ उत्पादन हुने गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *