शेयर बजारको जोखिम पहिचान

Post Date : July 26, 2016 | 5:28 pm

नेपालको शेयर बजार अहिले ऐतिहासिक उचाईमा पुगेको छ । नेप्से परिसुचक, कारोबार रकम, कारोबार कित्ता, बजार पूँजीकरण सवै इतिहासकै उचाइमा पुगेका छन् । देशमा भएको राजनीतिक परिवर्तनले अन्य क्षेत्रमा जस्तै शेयर बजारमा पनि प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभाव पारेको हुन्छ । राजनीतिक वृत्तमा अलिकता सकारात्मक कदम देखिने बित्तिकै शेयर बजार उकालो लाग्ने प्रवृत्ति छ । तर अहिलको बजारको गति कस्तो हो भन्न सकिने अवस्था भने छैन । यसले बजारमा जोखिमको तह बढाएको छ ।

यतिमात्र नभई हिजोआज हरेक चोक, गल्ली, पसल, रेष्टुरेण्टमा पनि शेयरकै कुरा हुन्छन् । शेयरका कुरा लेखिएका पत्रिकाको बिक्री बढेको छ । अनलाइनमा शेयरका समाचारका पाठक पनि बढेका छन् । यो सबै बढ्दो बजारको प्रभाव हो । विकसित मुलुकमा पूँजी बजारलाई अर्थतन्त्रको ऐना वा ब्यारोमिटरको रुपमा हेरिन्छ । तर हाम्रो पूँजी बजारले त्यसको वास्तविक प्रतिधित्व भने गर्न सकेको छैन । बजारमा सतही वा हल्लाका भरमा कारोवारहरू भइरहेका छन् । साना लगानीकर्ता त रातारात पैसा दोब्बर हुन्छ भनेर यसमा हात हालिरहेका छन् ।

नेपालको शेयर बजार तथ्यहरुमा मात्रै पनि आधारित हुँदैन हल्लाको भरमा पनि शेयरमा उतारचढाव आउने गरेको छ । सामन्यतया विकसित देशहरुमा शेयर बजारलाई मुख्यतः ब्याजदर, मुद्रास्फीति, मुद्राप्रदाय, तेलको मूल्य, विदेशी मुद्रा विनिमय दर आदिले असर गरेको हुन्छ । शेयरको मूल्य अनुमान पनि यिनै तत्वहरुमा आधारित हुन्छ तर नेपालमा भने यी तत्वहरुको असर नगण्य हुन्छ, बढी असर त हल्लाको हुन्छ ।

हुन त शेयर बजारमा उतार–चढाव आइरहन्छ र उतारचढाव आउनु कुनै अनौठो कुरा होइन । बजार तल जाँदा लगानीकर्ताहरु झस्किने र बजार माथि जाँदा उनीहरु हौसिने गर्दछन् । यो लगानीकर्तामा देखिने एउटा साधारण मनोवैज्ञानिक व्यवहार हो । तर बजार स्वाभाविक गतिभन्दा निक्कै तल झर्नु वा अस्वाभाविक रूपमा हौसिएर बढेको बढै गर्नु भने अर्थतन्त्रको लागि गम्भीर विषय हो । शेयर बजारमा बुद्धिमततापूर्वक र सावधानीपूर्वक लगानी गर्ने हो भने र बजारलाई बजार प्रक्रियाको सिद्धान्त अनुसार चल्न दिने हो भने लगानीकर्ताहरु आत्तिहाल्नु पर्दैन । किनभने यो धैर्यको बजार हो र ज्यादै संवेदनशील हुन्छ ।

लगानीकर्ताले पूँजी लगानी गर्ने भनेको फाइदा धेरै आउने क्षेत्रमा भएकाले जहाँ फाइदा छ त्यतै लगानीकर्ताले लगानी गर्छन् । धेरै लगानीकर्ताले बैंकहरूबाट कर्जा लिएर धितोपत्र बजारमा लगानी गरेका छन् । तर कर्जा लिएर मात्र होइन, आफूसँग भएको बचत परिचालन गरेर पनि शेयर बजारबाट लाभ कमाउन सकिन्छ । पछिल्लो समयमा अत्यधिक रूपमा यस क्षेत्रमा चासो र लगानी बढेसँगै नेपाल राष्ट्र बैंकले शेयर धितोमा हुने कर्जा प्रवाह (मार्जिन लेन्डिङ)मा केही कडाई पनि गरेको छ । बजारको अवस्थालाई भन्दा कम्पनीको वित्तीय अवस्थालाई विचार गरेर लगानी गर्ने हो भने न लगानी गर्ने साना लगानीकर्ता पछुताउनु पर्छ, न मार्जिन लेन्डिङ धेरै भयो भनेर बैंकहरू नै पछुताउनु पर्छ ।

कम्पनीको वित्तीय अवस्था नै कुनै पनि कम्पनीको शेयर मूल्य निर्धारण गर्ने प्रमुख आधार हो । कम्पनीको प्रतिशेयर चुक्तामूल्य, प्रतिशेयर नेथवर्थ (खुद सम्पत्ति), नाफा, प्रतिशेयर आम्दानी, लगानीमा प्रतिफल (लाभांश तथा बोनस वितरण) का साथै त्यस शेयरको मूल्य आम्दानी अनुपात जस्ता वित्तीय सूचकांकहरूले कम्पनीको शेयर मूल्य तय गर्छन् । यिनको अध्ययन गरेर मात्र लगानी गर्ने हो भने पछुताउनु पर्दैन ।

हालैका दिनमा नेप्सेमा देखिएको दोहोरो अंकको वृद्धिले केही उत्साह जगाएको भए पनि आफ्नो लगानी डुब्न सक्ने मनोवैज्ञानिक त्रास भने लगानीकर्ताहरुमा कायमै छ । आउँदा दिनमा शेयरको मूल्य घट्न सक्ने हो कि भन्ने आशंका शेयर लगानीकर्ताको छ र यो स्थितिमा शेयरमा रहेको लगानी होल्ड गरिरहने वा जतिसक्दो चाँडो बिक्री गरी थोरै भए पनि लाभ उठाउने भन्नेमा विशेषगरी साना लगानीकर्ताहरू द्विविधामा छन् ।

वास्तवमा राजनीतिक अस्थिरता एक ठाउँमा भए पनि सूचिकृत कम्पनीहरूको कार्यसम्पादन सकारात्मक भएकाले अहिले लगानीकर्ताले शेयर होल्ड गरेर राख्दा नै उचित हुन्छ । केही अपवादका कम्पनीहरूबाहेक सबैको वित्तीय विवरण सकारात्मक अवस्थामा नै देखिएकाले बजार अझै केही समय यही गतिमा रहनेछ ।

बजारको मुख्य आधार भनेको कम्पनीको स्थिति हो । कम्पनीको स्थिति मूल्यांकन गर्ने भनेको ती कम्पनीहरूले प्रकाशित वासताल, आयव्ययको विवरणजस्ता वित्तीय विवरणहरू हुन् । ती सकारात्मक हुने बेलासम्म आत्तिनु पर्ने अवस्था हुँदैन । त्यो पनि नकरात्मक हुन थाल्यो भने लगानीकर्ताले सोच्नु पर्ने अवस्था हुन्छ ।

शेयर बजार सजिलै छिर्न र निस्कन सकिने व्यापार हो । तर अन्य व्यापारमा यस्तो सहजता कमै हुन्छ । यसैगरी शेयर बजार दिनभर सटर खोलेर बस्नु नपर्ने ब्यापार पनि हो । यद्यपि यो जोखिमरहित भने छैन । यहाँ तीन प्रकारका जोखिम छन् । कम्पनी डुब्दाको जोखिम, मूल्य घटबढको जोखिम र अनभिज्ञताको जोखिम । बढ्दो बजारमा प्रवेश गर्ने नयाँ लगानीकर्ता धेरैमा अनभिज्ञताको जोखिम बढी हुने गर्छ । यो जोखिम कम गर्न शेयर बजार र पैसाका बारेमा ज्ञान हुन आवश्यक छ ।

पैसा कमाउन मानिससँग दुई वटा विकल्प छन् । पैसाका लागि काम गर्ने वा पैसालाई काममा लगाउने । भर्खरै प्रकाशित “शेयरबाट करोडपति” पुस्तकमा लेखक रविन्द्र भट्टराईले लगानीकर्ताको शेयरसम्बन्धी अनभिज्ञतालाई चिर्ने कोशिस गरेका छन् ।

sharebata -2nd edition

पुस्तकको सार छः शेयर बजार पैसालाई काममा लगाउने ठाउँ हो । विवेक प्रयोग गर्न सके पैसाको दास बन्नु पर्दैन । पैसालाई दास बनाउन सकिन्छ । संसारका धनी कि पैसालाई काममा लगाएर धनी भएका छन् कि मानिसलाई काममा लगाएर धनी बनेका छन् ।

शेयर बजारका प्राविधिक विषयलाई सरल र सहज ढंगबाट प्रस्तुत गरिएको यो पुस्तकमा लगानी गर्ने उत्तम तरिका र बजार घट्दा पनि आफ्नो लगानीलाई बचाउने उपाय जस्तो शेयरमा गरिने लगानीको बिमाका कुरा उठाइएको छ । जुन शेयरमा लगानी गर्नेका लागि पहिलो आवश्यकता हो । उच्चतम र न्यूनतम विन्दु पत्ता लगाउन गाह्रो हुने यो बजारमा त्यसका सजिला संकेतहरु भट्टराईले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । जसका कारण कुनै गणितीय विधिको अवलम्बन गर्नु पर्दैन । यस्तै शेयरको सिजन, शेयरको सेक्ससँगको सम्बन्ध, बजारका रोचक कुरा लगानीकर्ताका लागि निकै उपयोगी देखिन्छ ।

पुस्तक विल्कुलै नयाँ लगानीकर्ता र लगानी गरिरहेका दुवैलाई उपयोगी देखिन्छ । लगानीकर्ताले बारम्बार गर्ने गल्तीलाई पनि पुस्तकमा उल्लेख छ । जुन नदोहोरयाउने हो भने पैसा बनाउन शेयरमा गाह्रो छैन भन्ने सन्देश पनि किताबमार्फत दिन खोजिएको छ । प्रकाशन भएको एक सातापछि नै दोस्रो संस्करण निकालिएको यो पुस्तक फाइन प्रिन्ट बुक्सले प्रकाशन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *