सङ्ग्रहालयमा आउने पर्यटकको सङ्ख्यामा कमी

Post Date : August 16, 2016 | 5:21 pm

ललितपुर, ३२ साउन । गत वर्षको विनाशकारी भूकम्प र नाकाबन्दीका कारणले पाटन सङ्ग्रहालयमा आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ ।

आव २०७२/७३ मा अघिल्लो आवमा गत आवभन्दा २६ हजार ८७ कम पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका थिए । सङ्ग्रहालय अवलोकनको सङ्ख्यामा नाकाबन्दीका कारण समेत कमी आएको सङ्ग्रहालयका अधिकृत सुरेश लाखेले बताउनुभयो । “विद्युत्भार कटौती र पेट्रोलियम पदार्थको अभावले सङ्ग्रहालयमा उज्यालोको प्रबन्ध गर्न सकेका छैनौँ,” उहाँले भन्नुभयो ।

विद्युत्भार कटौतीका समयमा सङ्ग्रहालयमा जेनेरेटरबाट बत्ती बाल्ने गरिएको छ । दुई वर्ष अघिसम्म पाँच लाखको हाराहारीमा पर्यटक भित्रने गरेकामा गत आवमा सो सङ्ख्या तीन लाख हाराहारीमा सीमित भयो । सन् २०१२ मा गरिएको अध्ययनले नेपाल भित्रने गरेका कुल पर्यटकमध्ये १० प्रतिशत मात्र पाटन पुग्ने गरेका छन् ।

भूकम्पको प्रत्यक्ष असर सङ्ग्रहालयमा समेत परेको थियो । उक्त अवधिमा बाह्य तथा आन्तरिक पर्यटकको आगमन ठप्प भएको थियो । पर्यटकको आकर्षण बढेका कारण सङ्ग्रहालयले दुई वर्ष अघि आफ्नो क्षेत्र बिस्तार गरेको थियो । केशवनारायण चोकमा मात्रै सीमित सङ्ग्रहालय अहिले मूल चोक र सुन्दरी चोकमा समेत फैलिएको छ । “पुनःनिर्माणको काम अघि बढ्न सके पर्यटकको सङ्ख्या बढ्ने देखिएको छ,” लाखेले भन्नुभयो ।

सङ्ग्रहालय अवलोकन गर्न आउने पर्यटक सार्क मुलुकका र चिनियाँ बढी छन् । विद्यालय र क्याम्पसबाट शैक्षिक भ्रमणका लागि आउने विद्यार्थीको सङ्ख्या अत्यधिक रहेको छ । अघिल्लो आवमा कुल ४६ हजार ५८३ पर्यटकले पाटन सङ्ग्रहालयको भ्रमण गरेका थिए भने गत आवमा ७२ हजार ६७० पर्यटकले अवलोकन गरेका थिए । आव २०७०/७१ मा ७३ हजार ६२९ पर्यटक अवलोकनका लागि आएका थिए । गत आवमा १३ हजार ७१५ बाह्य पर्यटक अवलोकन गर्न आएका थिए । अघिल्लो आवमा सार्क मुलुक र चिनियाँसहित २० हजार २६१ बाह्य पर्यटकले भ्रमण गरेका सङ्ग्रहालयले जनाएको छ । (सञ्चिता घिमिरे) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *