सडक बनाउन बजेट पाइनः गच्छदार

Post Date : March 28, 2016 | 11:25 am

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले आफू मन्त्रीपरिषद्को शक्तिशाली सदस्य भएपनि सडक निर्माणका लागि बजेट निकासा गराउन नसकेको गुनासो पोख्नुभएको छ ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री गच्छदारले व्यवस्थापिका संसद्को विकास समितिको सोमबारको बैठकमा अर्थ मन्त्रालयले बजेट दिन नमानेका कारण हुलाकी राजमार्ग अन्तर्गत प्रथम चरणका विभिन्न १३ वटा सडकको निर्माणको काम अगाडि बढाउन नसकेको बताउनुभयो । उहाँले आफू मन्त्रीपरिषद्को शक्तिशाली सदस्य भएपनि राज्यको ढुकुटीको साँचो लिएको अर्थ मन्त्रालयले पटक पटक ताकेता गर्दा पनि बजेट दिन नमानेको बताउनुभयो । उहाँले अर्थ मन्त्रालयले बजेट उपलब्ध नगराएकै कारण ठेक्का लगाएर पनि ठेकेदारबाट काम गराउन नसकिएको बताउनुभयो ।

हुलाकी राजमार्ग बनाउन भारतले ८ अर्ब रुपैयाँ अनुदान दिने समझदारी भइसकेको छ । भारतले अनुदान दिने भनिएको रकम आउन समय लागेका कारण अर्थ मन्त्रालयसँग ५ अर्ब रुपैयाँ बजेट माग गरिएको मन्त्री गच्छदारले बताउनुभयो । राष्ट्रिय गौरवको हुलाकी राजमार्ग बनाउन १३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । समितिले भारतले दिने भनिएको अनुदान रकम हुलाकी राजमार्ग बनाउन अपुग हुने भन्दै अपुग हुने ५ अर्ब रुपैयाँ तत्काल उपलब्ध गराउन अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ । समितिले राजमार्ग अन्र्तगत प्रथम चरणका निर्माण सम्पन्न हुन बाँकि सडकहरुको काम द्रुत गतिमा अगाडि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले केन्द्रीय समन्वय समितिबाट मुआब्जा, क्षतिपूर्ति, वन क्षेत्र लगायतका समस्या समाधान गरी एक महिनाभित्र प्रगति विवरण पेश गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले २०७१ सालको मंसिर २१ गते नै हुलाकी राजमार्गको कामलाई तिब्रता दिन सरकारलाई निर्देशन दिएको थियो । समितिका सदस्यहरुले मन्त्री र सचिवहरुलाई बोलाएर निर्देशन दिंदा पनि प्रगति नहुनुले हुलाकी राजमार्गको निर्माण सम्पन्न हुनेमा आशंका उब्जिएको बताए ।

हुलाकी राजमार्ग अन्तर्गत ६ सय ७ किलोमिटर सडक बनाइनुपर्नेमा हालसम्म ५ प्रतिशत काम पनि भएको छैन । रुख काट्ने स्वीकृतिमा भएको ढिलाइ, बिजुलीको लाइन सार्न भएको ढिलाइ, नापी र मालपोत कार्यालयको असहयोगका कारण मुआब्जा वितरणमा भएको ढिलाइ लगायतका कारण हुलाकी राजमार्गको काम लक्ष्य अनुरुप अघि बढ्न नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *