सनराइज बैंकले एनआईडिसी क्यापिटल मार्केट्स प्राप्ति गर्ने सहमति

Post Date : September 25, 2016 | 8:26 pm

काठमाडौं, ९ असोज । सनराइज बैंक लिमिटेडले एन.आई.डि.सी क्यापिटल मार्केट्स लिमिटेड प्राप्ति (Acquire) गर्ने गरी आज समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा दुवै संस्थाका अध्यक्षहरुले हस्ताक्षर गर्नु भएको छ ।

यससँगै एन.आइ.डि.सी. क्यापिटल मार्केट्स लिमिटेडको धितोपत्र कारोवार रोक्का गरी पूर्वस्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा दरखास्त दिने तयारी गरिएको छ ।

एन.आइ.डि.सी. क्यापिटल मार्केट्स लिमिटेडले प्रारम्भदेखि ए.सि.एम. मर्चेण्ट बैंकिङ लिमिटेड स्थापना गरी सफलतापूर्वक मर्चेण्ट बैंकिङ कारोवार गरी आएको संस्था रहेको छ । उक्त मर्चेण्ट बैंकिङ नेपालमा पहिलो पल्ट म्युचियअ फण्ड संचालन गर्ने संस्था हो ।

सनराइज बैंक लिमिटेडले हाल रु. ५३ अर्वको निक्षेप संकलन गरी रु. ४७ अर्बको कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको निमित्त बैंकले ३३.३३ प्रतिशत वोनस शेयर दिने प्रस्ताब गरिसकेको छ । बोनस शेयर निष्काशन तथा एन.आइ.डि.सी. क्यापिटल मार्केट्स लिमिटेड प्राप्तीपछि हाल ३ अर्ब ९७ करोड चुक्ता पूँजी रहेको सनराइज बैंकको चुक्ता पूँजी करिब ५ अर्व ५० करोड पुग्ने हुन्छ ।

सनराइज बैंक लिमिटेडले गत असारमा नारायणी नेशनल फाइनान्स लिमिटेड प्राप्ति गरेको थियो । यस प्राप्ती पश्चात बैंकको पहुँच तथा व्यवसाय क्षमतामा ब्यापक बढोत्तरी हुनुका साथै मर्चेण्ट बैंकिङमा समेत सनराइज बैंकको उपस्थिति हुने छ । यसबाट नेपाली अर्थतन्त्रमा बैंकको उपस्थिति बढी सबल रहन गई सबै पक्षलाई लाभदायक हुने छ भन्ने कुरामा विश्वस्त व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *