साझामा एक दशकपछि लेखा परीक्षण

Post Date : November 8, 2016 | 2:24 pm

काठमाडौँ, २३ कात्तिक । साझा प्रकाशनले एक दशकपछि लेखापरीक्षण सम्पन्न गरी आगामी तीन महिनाभित्र सार्वजनिक गर्ने भएको छ ।

प्रकाशनले आव २०६२/६३ देखि २०७२/७३ सम्मको लेखापरीक्षण पूरा गरी तीन महिनाभित्र सार्वजनिक गर्ने तयारी गरेको हो ।

हाल विभिन्न १५ शाखा कार्यालय र बिक्री केन्द्रको आन्तरिक लेखा परीक्षण गर्न कर्मचारी खटाइएको छ । हालसम्म तीनवटा कार्यालयको लेखा परीक्षण सम्पन्न भएको प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

लेखा परीक्षण गर्दा कतिपय कर्मचारीबाट अनियमितता गरेको रकम संस्थाले लिनुपर्ने समेत देखिएको छ । एकातिर संस्था ऋणमा डुबेका कारण छ महिनादेखि तलब खान नपाएको भनिनु र कतिपय कार्यालयमा तलब खाएर पनि उल्टै संस्थाले रकम लिनुपर्ने हुनाले थप छानबिन गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

“विगतका अनियमितताको छानबिनका लागि समिति गठन गरी काम भइरहेको छ,” शर्माले भन्नुभयो । गत साधारणसभामा छ महिनाभित्र लेखापरीक्षण सार्वजनिक गर्ने प्रतिबद्धता व्यवस्थापनले गरेको थियो । साझा प्रकाशन बचाउन सरकारले ऋण र अनुदान गरी रु ४० करोड दिने प्रतिबद्धता जनाएसँगै सञ्चालक समिति र कर्मचारीमा उत्साह थपिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *