साठी वर्षपछि आरटिओ रोड बन्न लागेपछि स्थानीयवासी खुसी

Post Date : September 16, 2016 | 5:19 pm

चन्द्रौटा (कपिलवस्तु), ३१ भदौ । साठी वर्षपछि सडक बन्न लगेपछि कपिलवस्तु क्षेत्र नं ५ का जनता खुसी भएका छन् ।

विसं २०१३ मा निर्माण सुरु गरेको आरटियोमा विवाद भएपछि निर्माण कार्य अलपत्र परेको थियो । अलपत्र परेको बाटो कालोपत्रे हुने खबरले अहिले कपिलवस्तुवासी खुसी भएका छन् ।

क्षेत्र नं ५ का सांसद अभिषेक प्रताव शाहको संसदीय पूर्वाधार विकास कोष मार्फत प्राप्त बजेटबाट सडक निर्माण गर्न थालपछि आफूहरु धेरै खुसी भएको गणेशपुरका गयादिन कुर्मीले बताउनुभयो । रु पाँच करोडको लागतमा पाँच किलोमिटर लम्बाइ रहेको सो सडक निर्माण अन्तिम चरणमा पुगेको सांसद शाहले बताउनुभयो ।

यो सडकको निर्माण चाँडै नै सम्पन्न गर्न थप बजेटका लागि पनि आफूले पहल गरिरहेको उल्लेख गर्दै उहाँले अहिले संसदीय पूर्वाधार विकास कोषअन्तर्गतको बजेटबाट यस क्षेत्रका आधादर्जनभन्दा बढी ठाउँका सडक निर्माण भइरहेको जानकारी दिनुभयो ।

क्षेत्र नं ५ को बहादुरगन्ज गाविसस्थित दलित बस्तीमा रु १५ लाखको लागतमा एक किमी सडक कालोपत्रे गरिएको र धर्मनगरदेखि विशनपुर गाविस जोड्ने सडकमा रु ३० लाखको लागानीमा ग्राभेल, माटो पटान र कल्भर्ट निर्माण भइरहेको छ। यसैगरी क्षेत्र नं ५ कै ठाकुरपुरको सडकमा रु १३ लाखको लागतमा ग्राभेल, माटो पटान र कल्भर्ट निर्माणका कार्य भइरहेको र रु ३५ लाखको लागतमा पिपरी र पौकी बन्डाको सडक निर्माण हुने भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *