सामुदायिक वनका सात सय असी उपभोक्तालाई सौर्यबत्ती

Post Date : March 2, 2017 | 11:57 am

सुरुङ्गा (झापा), १९ फागुन । झापाको कनकाई नगरपालिकामा रहेको एक सामुदायिक वनले आफ्ना सबै उपभोक्तालाई सौर्य वत्ती वितरण गरेको छ ।

अनियमित रुपमा हुने विद्युत्भार कटौतीका कारण अन्धकारमा बस्नु परेको भन्दै कनकाई नगरपालिका वडा नं १ र २ मा रहेको जामुनबारी सामुदायिक वनले आफ्ना सबै उपभोक्ताका घरमा सौर्य बत्ती वितरण गरेको हो । ७८० उपभोक्ता रहेको जामुनबारी सामुदायिक वनले तीन सय घरमा निःशुल्क, १५० घरमा ५० प्रतिशत छुट र बाँकी घरमा आफ्नै लगानीमा सौर्य बत्ती जडान गरिएको वनका अध्यक्ष पर्शुराम गिरीले जानकारी दिनुभयो ।

गिरीका अनुसार मध्यम, निम्न, अतिनिम्न र सुकुम्बासी भनेर चार वर्गमा विभाजन गरेर अनुदान दिइएको छ । दुईवटा बत्ती भएकालाई निःशुल्क, चार भएकालाई ५० प्रतिशत छुट र चारभन्दा माथि बत्ती प्रयोग गर्नेलाई शुल्क लिएर सौर्य बत्ती जडान गरिएको छ । सबै उपभोक्ताले एकै साथ सौर्यबत्तीको प्रयोग गरेर नमुना प्रस्तुत गरेको गिरीको भनाइ छ ।

विसं २०५२ मा स्थापना भएको जामुनबारी सामुदायिक वन अहिले जामुन खाडी नामले परिचित रहेको छ । रु २२ लाख खर्च गरेर सबैको घरमा सौर्य बत्ती जडान गरिएको अध्यक्ष गिरीले बताउनुभयो ।

चार सय ३४ हेक्टर क्षेत्रफलमा फैलिएको वनको संरक्षण गर्दै वनको विविधताको पनि संरक्षण गर्न सफल भएको गिरीको भनाइ छ ।

सामुदायिक वनको ३४ हेक्टर क्षेत्रफलमा निर्माण गरिएको जामुनखाडी सिमसार क्षेत्रमा नै वन्यजन्तुको संरक्षण तथा वनभोजस्थलसमेत रहेका छन् । जामुनखाडी सिमसार क्षेत्रमा यो वर्ष तीन लाख आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष गिरीले बताउनुभयो । उनका अनुसार वन क्षेत्रबाट भएको आम्दानीले वनको उपभोक्ताको जीवनस्तर उकास्नमा नै खर्च गरिनेछ ।

सबै घरमा शौचालय

सरकारले सन् २०१७ भित्र देशलाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका बेला सामुदायिक वनको पहलमा जामुनवारी सामुदायिक वनका सबै उपभोक्ताले शौचालय निर्माण गरेका छन् ।

आफूहरुले शौचालय निर्माण गर्न प्रेरित गरेकै कारण सबैले आ–आफ्नो घरमा शौचालय निर्माण गरेका अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

घरघरमा गोबरग्यास

सामुदायिक वनले वनको संरक्षण गर्ने उद्देश्यले हरेक घरमा गोबरग्यास जडान गर्न अभिप्रेरित गर्दै अनुदानसमेत दिएको गिरीको भनाइ छ । वनले नै गर्दा उक्त क्षेत्रका बासिन्दाको आर्थिक सुधार तथा विकासको पूर्वाधारमा टेवा पुगेको बताइएको छ ।

अध्यक्ष गिरीका अनुसार वनको संरक्षण गर्ने उद्देश्यले दाउराको खपत कम गर्न तथा वातावरणलाई जोगाइराख्न गोबरग्यासमा अनुदानको व्यवस्था गरिएको छ । उपभोक्ताको आर्थिक अवस्था हेरर सहयोग गर्ने गरिएको उहाँको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *