साल्ट ट्रेडिङले बोनस शेयर प्रदान गर्ने

Post Date : July 13, 2017 | 5:30 pm

काठमाडौँ, २९ असार । साल्ट ट्रेडिङ कर्पाेरेशनले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद लाभांश दिने भएको छ ।

कर्पाेरेशनले आर्थिक वर्ष २०७२/७३ मा रु ६१ करोड २४ लाख मुनाफा आर्जन गरेको थियो । यो आव २०७१/७२ भन्दा रु पाँच करोड १५ लाख बढी हो । कर्पाेरेशनको आज यहाँ सम्पन्न ५०आैँ वार्षिक साधारणसभाले आफ्ना शेयरधनीलाई सो बोनस र लाभांश दिने निर्णय गरेको हो ।

उपभोक्तालाई नून, चिनी, चामल, दाल, गेडागुडी, ग्यासलगायत अन्य खाद्यान्न अनुदान तथा गैरअनुदानमा मल बिक्री वितरण गर्दै आएको कर्पाेरेशनले २०७३ सालमा भारतीय नाकाबन्दी र तराई आन्दोलनमा समेत रु छ अर्ब ८३ करोडको कारोबार गर्न सफल भएको थियो ।

कर्पाेरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले यस वर्षको जेठ मसान्तसम्म रु सात अर्ब ५६ करोड ४८ लाख बराबरको कारोबार गरेको साधारणसभामा जानकारी दिनुभयो । उहाँले सरकारको निर्देशन र सामाजिक उत्तरदायित्व बहन गर्नुपरेका कारण मूल्यभन्दा कम मूल्यमा सामान बिक्री वितरण गर्नुपर्ने बाध्यताले कर्पाेरेशनले अपेक्षित मुनाफा आर्जन गर्न नसकेको बताउनुभयो ।

सरकारले कर्पाेरेशनलाई अनुदानमा बिक्री वितरण गर्न अनुमति दिएको रासायनिक मलमध्ये हालसम्म युरिया मल ५० हजार मेट्रिक टन, डिएपी ५० हजार मेट्रिक टन, दुई हजार पाँचसय मेट्रिक टन पोटास मलमध्ये अधिकांश आयात भइसकेको र यसले मलको अभावलाई केही मात्रामा पूरा गर्ने साधारणसभामा जानकारी दिइएको थियो ।

अनुदान रकमबाट आयात गरिएका रासायनिक मलको परिणाम कृषि बजारको आवश्यकताभन्दा कम रहेकाले कर्पाेरेशनले कृषि मन्त्रालयको स्वीकृतिमा रासायनिक मल आयात गरी बिक्री वितरण सुरु गरेको छ । आगामी दशैँ तिहारजस्ता पर्वमा चिनीको अभाव हुन नदिन भारतबाट ५० हजार मेट्रिक टन चिनी आयातको व्यवस्था मिलाइसकिएको कर्पाेरेशनले जनाएको छ ।

साभारणसभामा शेयरधनी डमरुबल्लभ भट्टराई, ईश्वरदास कर्माचार्य, रामगोपाल महर्जन, राजेश शाक्य, वासुदेव पराजुलीलगायतले कर्पाेरेशनलाई अझ प्रतिस्पर्धी, चुस्त बनाउँदै, व्यापार विविधिकरण गर्न सुझाव दिनुभएको थियो । उहाँहरुले दुर्गम गाउँमा नूनको अभाव हुन नदिन सुझाव दिनुभयो ।

कर्पाेरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले कर्पाेरेशनका वित्तीय अवस्था, लगानी, आय तथा व्ययको विवरण प्रस्तुत गर्नुभएको थियो ।

व्यापार विविधिकरण

कर्पाेरेशनले प्रमुख शहरमा पेट्रोल पम्प सञ्चालन गर्ने तयारी गरेको छ । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पेट्रोल पम्प सञ्चालन गर्न नेपाल आयल निगम र कर्पाेरेशनबीच द्विपक्षीय सम्झौता भइसकेको जानकारी दिनुभयो ।

यसैगरी कर्पाेरेशनले सातवटै प्रदेशमा आफ्नो कार्यालय स्थापना गरी सेवा प्रवाह हुने जनाएको छ ।

नूनको अभाव छैन

कर्पाेरेशनले आफ्ना डिपो कार्यालयका गोदाममा छ महिनाका लागि नून मौज्दात रहेको जनाएको छ ।

कर्पाेरेशनका विभागीय प्रमुख ब्रजेशकुमार झाले गोदाममा ३७ हजार ८४७ क्विन्टल नून रहेको जानकारी दिनुभयो । सरकारले कण्ठरोग नियन्त्रण कार्यक्रमअन्तर्गत कर्पाेरेशनलाई मात्र नूनको बिक्री वितरण गर्ने अनुमति दिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *