सुन्तलाबाट मनग्य आम्दानी

Post Date : December 2, 2016 | 3:44 pm

रामपुर (पाल्पा), १७ मङ्सिर । गाउँको जग्गा छाडेर सहरतिर बसाइँ सराइ गर्ने तयारीमा रहनुभएका गल्धा गाविस– ६, बहपुरका ६० वर्षीय मानबहादुर ढेँगा मनग्य आम्दानी हुन थालेपछि गाउँमै बसेर सुन्तलाखेती गर्न थाल्नुभएको छ ।

रामपुर नगरपालिका बेझाङ बजारमा घर बनाइसक्नुभएका ढेँगाको गाउँमै सुन्तलाखेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि सहरतिर बसाइँ सर्ने मनसाय एकाएक बदलिएको छ । विगत सात वर्षदेखि बाँझो जग्गामा सुन्तलाखेती गर्नुभएका ढेँगाले अहिले सुन्तलाबाट नसोचेको आम्दानी हुनथालेपछि बसाइँ सर्ने सोच त्याग्नु भएको हो ।

चार सय बोटमध्ये करिब एक सय बोटमा फलेको सुन्तला बिक्री गरी उहाँले वार्षिक रु एक लाख ५० हजारसम्म आम्दानी गरिरहनुभएको छ । “पहिला मकै, भटमास लगाइन्थ्यो, खासै उत्पादन हुँदैनथ्यो, सुन्तलाबाट राम्रै आम्दानी भइरहेको छ,” उहाँले भन्नुभयो ।

सोही गाउँकै किसान तेजन सुनारीलाई यतिबेला सुन्तला बिक्री गर्न भ्याई नभ्याई छ । पाखोबारी नबाँझियोस् भन्ने मनसायले उहाँले एक हेक्टर क्षेत्रफलमा ३०० बोट सुन्तला लगाउनुभयो । दुई मुरी कोदो, मकै, तरकारी नफल्ने जग्गामा अहिले सुन्तलाबाट लाखाँैको आम्दानी हुन थालेको छ । उहाँले वार्षिक रु दुई लाखदेखि रु तीन लाखसम्म आम्दानी गर्नुहुन्छ ।

गत वर्ष उहाँले २५ क्विन्टल सुन्तला बिक्री गरेर रु दुई लाख ५० हजारभन्दा बढी आम्दानी गर्नुभयो । “अन्नबाली लगाएर तीन महिनालाई पनि खान पुग्दैनथ्यो, सुन्तला लगाएपछि घरखर्च राम्ररी चलेको छ,” सुनारीले भन्नुभयो ।

गत वर्षको तुलनामा यस वर्ष उत्पादन बढेको उहाँको भनाइ छ । “यस वर्ष १५० बोटबाट करिब ४० क्विन्टल सुन्तला उत्पादन हुने अनुमान छ,” उहाँले भन्नुभयो ।

ढेँगा र सुनारी जस्तै गाउँका १५ जना किसानले व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आएका छन् । सिंगो गाउँ नै सुन्तलामय बनेको छ । यहाँ एक घरपरिवारले न्यूनतम ५० बोटदेखि ४०० बोटसम्म सुन्तलाखेती गर्दै आएका छन् । यहाँ उत्पादित सुन्तला रामपुर बजारमा बिक्री हुने गर्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *