सूचना तथा सञ्चार प्रविधिमा महिलाको पहुँचमा जोड

Post Date : April 28, 2016 | 5:26 pm

काठमाडौँ, १६ वैशाख । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सञ्चार र प्रविधिका क्षेत्रमा पनि महिला सशक्तीकरणको आवश्यकता भएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय महिला सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले महिला आफैँ यस क्षेत्रमा क्रियाशील नभएकाले तिनमा रहेको प्रतिभालाई सदुपयोग गर्न सशक्तीकरण गराउनुपर्नेमा जोड दिँदै सरकारले यसतर्फ तालिमलगायत विविध कार्यक्रम आयोजना गर्दै आएको छ भन्नुभयो ।

सूचना प्रविधि समाज नेपालको सहयोगमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आयोजित सो कार्यक्रममा मन्त्री राईले आगामी दिनमा ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा समेत इन्टरनेटको व्यवस्था गरेर महिलालाई सूचना तथा प्रविधिका क्षेत्रमा जानकारी गराउने सरकारको लक्ष्य रहेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा महिला आफैँले बाह्य तथा घरेलु हिंसाबाट बच्न प्रगोग गर्न सक्ने मोबाइल एप्लिकेसन बनाउने छात्रा समूहलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा प्रथम हुने ‘नारी सरोकार’ समूहले रु ३० हजार, द्वितीय हुने ‘उनका लागि’ समूहले रु १८ हाजर र तृतीय हुने ‘नव नारी’ समूहले रु नौ हजार पुरस्कार प्राप्त गरेका थिए ।

दूरसञ्चार प्राधिकरणका कार्यकारी अध्यक्ष दिगम्बर झा तथा प्राधिकरणका कार्यक्रम निर्देशक पुरुषोत्तम खनाल, सूचना प्रविधि समाज नेपालका अध्यक्ष दामोदर पौडेललगायतले सूचना सञ्चार र प्रविधिका क्षेत्रमा महिला सहभागिता बढाउन भइरहेका पहलबारे चर्चा गर्नुभएको थियो ।

सन् २०१३ देखि नेपालमा पनि प्रत्येक वर्ष अप्रिल महिनाको चौथो बिहीबार यो दिवस मनाइदै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *