सेयरमा टिक्दैन, बढ्दो क्रम

Post Date : August 21, 2016 | 5:31 pm

नेपाल स्टक एक्स्चेन्ज यो हप्ता पनि निकै उतारचढाव देखियो । अघिल्लो हप्ता ८८ अंकले घटेको बजार फेरि अर्को कारोबारी दिन ८५ अंकले बुलिस रह्यो, लयमा फर्कियो भन्ने धेरैले अनुमान गरेका थिए तर फेरि बजार घट्न सुरू भयो । आइतबार र सोमबार ४० र ३९ अंकले लगातार घट्दै आएको बजार मंगलबार २२ अंकले र बुधबार १७ अंकले बढ्यो । बजार उतारचढाव र निकै तनावपूर्ण स्थितिबीच चलिरहेको छ । कसैले पनि बजार अहिलेसम्मको उच्च बिन्दु १८८१ पार गर्छ वा बियरिस ट्रेन्ड सुरु हुन्छ भनेर भन्न सक्दैन । यो हप्ता ४ दिन मात्रा कारोबार भयो तर केही अप्रत्यासित संकेतहरु देखा परेका छन जसलाई त्यति सहज मान्न सकिन्न । मंगलबार र बुधबारको कारोबारले हामीलाई केही उत्साहित बनाएको छ, तर पनि लगानिकर्ताहरू यो ‘बुल ट्रेन्ड’ अगाडि जान्छ वा आइतबारदेखि फेरी घट्न सक्छ भनेर ढुक्क हुन सक्ने अवस्थामा छैनन् किनकी यो २ दिनको बुल त्यति बलियो टेकोमा अडिएको देखिन्न । सेयर बजारको बढ्दो प्रवृत्ति अर्थात बुल ट्रेन्ड किन कमजोर रहेको छ भनेर चर्चा गराँै ।

nepse aug 11-17

बैंकहरूको ‘स्कृप’ सुस्त रहनु

बैंक तथा वित्तीय संस्थाको चौमासिक नतिजा प्रकाशित हुने क्रम जारी छ, एक दुई संस्था छोडेर प्रायले राम्रो नतिजा प्रस्तुत गरेका छन् । अब दशैंअघि र दशैंपछि धेरैले साधारणसभा गरी हकप्रद, डिभिडेन्ड, बोनस सेयर घोषणा गर्नेछन् तर पनि बैंक फाइनान्सको सेन्सिटिभ इन्डेक्स धेरै सक्रिय देखिँदैन । त्यसैले बैंकिङ्ग स्कृप (सेयर बजारमा सूचिकृत कम्पनीहरूको कारोबार प्रवृत्ति) सुस्त छ । अहिले १० वटा वाणिज्य बैंक अर्ब नाफा आर्जन गर्ने सूचीमा छन् र समग्र बैंकले अघिल्लो आर्थिक वर्षभन्दा ३०% नाफा कमाएका छन् । कृषि विकास बैंकले २ अर्ब ६४ करोड नाफासहित लोभलाग्दो विवरण र ५०% हकप्रद घोषणा गरेको साउन ३१ गतेका दिन जम्मा २ रुपैयाँले मुल्य बढेर ९७० मा बन्द भयो । अरु ‘स्कृप’ मध्ये बैंक क्षेत्रको हिस्सा ठूलो भएका कारण सानोतिनो हलचलले बजारमा प्रभाव पार्छ । बजार बलियो बुलिस कायम रहनका लागि बैंकहरूको ‘स्कृप’ सकारात्मक रुपमा धेरै सक्रिय रहनु पर्छ । वाणिज्य बैंकमा गरिएको लगानी सुरक्षित मानिँदै आएको छ र २०७४ साल सम्ममा हकप्रद र बोनस शेयरबाट राम्रो मुनाफा आर्जन गर्न सकिने प्रष्ट देखिँदा देखिँदै पनि बजार स्थिर छैन । यी सबै तथ्य सकारात्मक हुँदाहुँदै पनि बैंक क्षेत्रले बुलिस ट्रेन्ड फर्काउन नसक्दा यो संकेतलाई हलुका रूपमा लिन सकिन्न ।

कारोबार रकम

श्रावण १४ गतेपछि बजार घट्ने क्रम (बियरिस हुन) सुरु गरेको थियो, बजार घटे पनि कारोबार रकम राम्रो थियो र त्यसैलाई आधार मानेर शेयर बजारका विश्लेषक र जानिफकारहरूका आत्तिन नपर्ने धारणा आएका थिए । साउन २६ गते बजारमा २ अर्बको कारोबार भएपछि कुल कारोबारी रकम प्रत्येक दिन घट्न सुरु भएको देखिन्छ । यो हप्ता पनि आइतबारदेखि कारोबार रकम घट्दै आएको तालिकामा हेर्न सकिन्छ ।

मिति सूचांक अंक प्रतिशत कारोवार रकम
10/8/2016 1779.57 19.15 1.09% 2,028,759,779
11/8/2016 1774.87 -4.7 -0.26% 1,318,672,576
14/8/2016 1733.93 -40.94 -2.31 1,142,207,999
15/8/2016 1694.81 -39.12 -2.26% 1,192,949,769
16/8/2016 1717.45 22.64 1.34% 1,063,175,294
17/8/2016 1735.06 17.61 1.03% 1,000,705,587

कारोबार रकम घट्दै जानुको अर्थ हुन्छ, बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्न खोजेका छैनन् । दैनिक ४ घण्टा कारोबार हुने बजार १ अर्ब पनि मुस्किलले कारोबार भएको देखिन्छ । जति कारोबार भएको छ, हाल भएका लगानीकर्ताले त्यही पुँजी घुमाइरहेको (रोटेसन) गरेको जस्तो देखिन्छ । बुलिस ट्रेण्ड बलियो हुन नयाँ लगानीकर्ता आवश्यक पर्छ नै, पुरानासँगको पुँजी फ्रीज जस्तै अवस्थामा रहन्छ, एउटा किन्न परे अर्को बेच्ने अवस्था छ अहिले । यसरी रोटेसन गरिएको पूँजीले बजार स्थिर रहने वा घट्ने हुन सक्छ ।

लघुवित्त कम्पनी र इन्सुरेन्स कम्पनी

यो हप्ता पनि यी दुबै समूहको मूल्य बढ्न सकेन, मौदिंक नीतिमा लघुवित्त कम्पनीले ७% ब्याज अन्तर (स्प्रेडदर) कायम गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको र होलसेल कारोबार गर्ने ४ वटा लघुवित्तलाई ६० करोड चुक्ता पूँजी पुरयाउन २०७५ साल सम्मको समय व्यवस्था भएपछि लगानीकर्ताले लघुवित्तको शेयर बेच्न सुरू गरे र मूल्य घटेपछि यो स्थिर कारोबार गर्दै आएको छ, यो हप्ता पनि स्थिर मूल्यमा कारोबर भयो । तत्काल लघुवित्तको मूल्य बढ्ने कुनै कारण देखिन्न र लघुवित्तलाई तत्काल पुँजी वृद्धि गर्नुपर्ने हतार पनि छैन । इन्सुरेन्स कम्पनीहरूको पनि पूँजी वृद्धि नीति तथा कार्यक्रम अलपत्र परेको अवस्था छ । पूँजी वृद्धि योजना बिमा समितिबाट सार्वजनिक नहुँदा सम्ममा इन्सुरेन्सले पहिलाझै मूल्य बढेर बजारमा बुलिस ट्रेन्ड कायमा राख्न मद्दत गर्ने थिए । अहिले सबैभन्दा धेरै नेप्से सब—इन्डेक्स घटेको इन्सुरेन्स कम्पनीहरूको हो ।

यो हप्ता बजारमा बिक्रीको चाप देखिएन, त्यसैले बजार २ दिन बढेर आयो । बजार थोरै बढ्दा केही दिन बेच्न हतार गर्ने लगानीकर्ता अहिले बजारको गति कम भएको हुँदा, मंगलबार र बुधबार बढेको बजार हेर्दा लगानीकर्ताले बजारको गति पर्खिएको देखिन्छ । यद्यपि पछिल्लो २ दिनको बढ्दो गति बुलले केही आशा जगाएको छ तर, यो बढ्दो क्रमलाई बलियो संकेत भने मान्न सकिँदैन । उच्च बिन्दुबाट आएको गिरावटको १०% सम्मको बजार गिरावटलाई करेक्सन मानिन्छ, मंगलबार १०% गिरावटपछि बजार बढेको हो । समग्रमा यो हप्ता बजार आशाजनक तर निकै कमजोर बुलिस देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *