सोमबारदेखि सवारी साधनमा विद्युतीय नम्बर प्लेट

Post Date : August 20, 2017 | 6:34 pm

काठमाडौँ, ४ भदौ । यातायात व्यवस्था विभागले सोमबारदेखि सवारी साधनमा विद्युतीय (इम्बोस्ड) नम्बर प्लेट राख्न शुरु गर्दैछ ।

इम्बोस्ड नम्बर प्लेट राष्ट्रपति, सरकारी, व्यावसायिक र निजी गरी चार प्रकारका हुनेछन् । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राखेपछि सवारी चोरी हुने समस्या र अपराधका काममा प्रयोग हुने घटना रोकिने विभागका प्रवक्ता डा टोकराज पाण्डेले राससलाई जानकारी दिनुभयो ।

“इम्बोस्ड नम्बर प्लेट चम्किलो हुने भएकाले टाढैबाट देखिन्छ, यो नं प्लेट भएका सवारी कहाँ के गर्दैछन् भन्ने पहिचान गर्न उपत्यकाका पाँच नाका र उपत्यका बाहिर पाँच स्थानमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन’ केन्द्र स्थापना गरिनेछ”–उहाँले भन्नुभयो ।

केन्द्रबाट यो नं प्लेट भएका सवारी कहाँ के गर्दै छन् भन्ने जानकारी लिन सकिन्छ । सवारीमा विद्युतीय नं प्लेट राखिसकेपछि दुर्घटना भएमा छिटो पहिचान गरी उद्धार गर्न सकिन्छ । यसका लागि अमेरिका र बंगलादेशको संयुक्त डेटाटोर टाइगर आइटी कम्पनीलाई ठेक्का दिइएको विभागले जनाएको छ । पाँच वर्षमा २५ लाख सवारी साधनमा विद्युतीय नं प्लेट राख्ने विभागको योजना छ ।

यो नं प्लेट राख्न ठूला चारपांग्रे सवारीका लागि रु तीन हजार ६००, मझौला चारपांग्रे सवारीका लागि रु तीन हजार २००, ट्याम्पो, रिक्सालगायत तीनपांग्रे सवारीका लागि रु दुई हजार ९०० र मोटरसाइकललगायत सवारीका लागि रु दुई हजार ५०० दस्तुर तोकिएको छ ।

सोमबार बिहान विभागमा आयोजना हुने विशेष कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले सवारीमा इम्बोस्ड नं प्लेट राख्ने कामको शुभारम्भ गर्नुहुने कार्यक्रम छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *