स्वरोजगारका लागि युवालाई रु पच्चीस करोड

Post Date : July 10, 2017 | 3:55 pm

बनियानी (झापा), २६ असार । सरकारले युवालाई व्यवसायी तथा उद्यमी बनाउने उद्देश्यले सञ्चालनमा ल्याएको स्वरोजगार कोषमार्फत झापामा यो पटक रु २५ करोड लगानी गरिने भएको छ ।

अर्थ मन्त्रालय अन्तर्गतको युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयमार्फत जिल्लामा उक्त रकम लगानी गर्न लागिएको स्वरोजगार कोष अनुगमन समितिका जिल्ला सचिव सन्तोष सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार ४३ वटा सहकारी संस्थामार्फत दुई हजार २०० भन्दा बढी युवालाई रु ५० हजारदेखि रु दुई लाखसम्म प्रदान गरिनेछ । पुराना १७ र नयाँ २६ वटा सहकारीले व्यापार–व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्न चाहने युवाको छनौट गरी लगानी गर्नेछन् ।

सरकारद्वारा सूचीकृत ती सहकारीले स्वरोजगार कोषबाट पाँच प्रतिशत ब्याजमा रकम लिएर १० प्रतिशत ब्याजमा लगानी गर्नेछन् । कोषमार्फत रकम वितरणका लागि सहकारी संस्थासँग सम्झौतासमेत भइसकेको र युवाले व्यवसाय सञ्चालनका लागि माग गर्ने रकम बराबरको निःशुल्क व्यक्ति र व्यवसायको बीमा गरिने सापकोटाले जानकारी दिनुभयो ।

स्वरोजगार कोषबाट रकम लिएर नियमित किस्ता तिरेर इमान्दारिता देखाउने युवालाई सम्झौता अवधि सकिएपछि ब्याजको ६० प्रतिशत फिर्ता गरिनेछ । यसअघि युवालाई तीन किस्तामा रकम प्रदान गरिएकामा अब एकै पटकमा सबै रकम प्रदान गरिने सचिव सापकोटाले जानकारी दिनुभयो ।

“किस्ता–किस्तामा रकम दिँदा युवालाई पुँजी परिचालनमा समस्या भएपछि एकै पटकमा सबै रकम दिन लागिएको हो”, उहाँले भन्नुभयो, “एकै पटक रकम प्रदान गर्दा प्रभावकारी हुन्छ ।” स्वरोजगार कोषमार्फत यसअघि जिल्लामा १७ वटा सहकारीले ८४४ युवामा रु आठ करोड ८५ लाख लगानी गरेका थिए ।

त्यस्तै, सहकारीलाई सात प्रतिशत ब्याजमा रकम प्रदान गरिएकामा सहकारीले युवालाई १२ प्रतिशत ब्याजमा लगानी गरेका थिए । यस पटक ब्याजको दर घटाएर सहकारीलाई पाँच प्रतिशत र सहकारीले युवालाई १० प्रतिशत ब्याजदरमा लगानी गर्नेछन् । सरकारले स्वरोजगारको माध्यमबाट विदेश पलायन घटाउँदै स्वदेशमै कमाउने र स्वदेशमै रमाउने वातावरण निर्माणका लागि कोष सञ्चालनमा ल्याएको संयोजक सापकोटाले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *