स्वास्थ्य बिमा सुरु

Post Date : June 29, 2016 | 3:45 pm

इलाम, १५ असार । जिल्लामा आजदेखि सामाजिक सुरक्षा स्वास्थ्य विकास कार्यक्रम (स्वास्थ्य बिमा) आजदेखि सुरू भएको छ ।

जिल्ला स्वास्थ्य सुरक्षा संयोजन समितिका अनुसार असारमा स्वास्थ्य बिमा गरेका नागरिकले भदौबाट सेवा पाउने छन् । सामाजिक स्वास्थ्य विकास समितिका कार्यकारी निर्देशक गुणराज लोहनीले यसअघि कैलालीमा सुरू भएको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएपछि इलाममा समेत सफल हुने विश्वास व्यक्तगर्नुभयो ।

“कार्यक्रम प्रभावकारी रुपमा लागु गर्न कर्मचारी र स्वयम् सेविकालाई तालिम दिएर दक्ष बनाएका छौँ,” उहाँले भन्नुभयो । कार्यक्रममार्फत वर्षको तीन चरणमा बिमा दर्ता गरिने छ । वैशाख, जेठ र असारमा दर्ता गरेकाले भदौदेखि सुविधा पाउने छन् । साउन, भदौ, असोजमा बिमा दर्ता गराएकाले मङ्सिरदेखि सुविधा पाउने छन् । त्यस्तै कात्तिक, मङ्सिर, पुसमा बिमा गराएकाले फागुनदेखि र माघ, फागुन, चैत महिनामा बिमा दर्ता गरेकाहरूले जेठदेखि सुविधा पाउने बताइएको छ ।

स्वास्थ्य बिमाका लागि पाँच जनासम्मको परिवारले वार्षिक रु दुई हजार ५०० तिर्नु पर्नेछ भने एक वर्षसम्म बिमा गरेको परिवारको सदस्यलाई रु ५० हजारसम्मको स्वास्थ्य सेवा (उपचार, निदान र औषधि) प्रदान गरिने छ । तर, त्यस्तो सेवा भने समितिले तोकेको स्वास्थ्य संस्थाबाट मात्रै लिन सकिने छ ।

अहिले प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल, अञ्चल अस्पताल र सरकारी स्वामित्वका केन्द्रीय अस्पतालबाट उपचार सुरू गरिने निर्देशक लोहनीले बताउनुभयो । पाँचजना भन्दा बढी भएका परिवारले प्रति सदस्य रु ४२५ का दरले बिमा रकम थप्नुपर्नेछ । पाँचजना भन्दा बढी परिवार सङ्ख्या भएकाहरूका लागि प्रतिव्यक्ति रु १० बराबरको सेवा थप हुनेछ ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत अधिकतम रु एक लाखसम्मको स्वास्थ्य सेवा प्रदान गरिने व्यवस्था मिलाइने छ । बिमा बर्सेनि उत्ति नै रकम तिरेर नवीकरण गर्नुपर्नेछ । बिमा गरेको परिवारको सदस्यले स्वास्थ्य सेवा लिनका लागि परिचय–पत्र लिएर स्वास्थ्य संस्था जानुपर्ने छ भने उपचार खर्चबापतको रकम कार्यक्रममार्फत सिधै स्वास्थ्य संस्थाले पाउने छन् । जिल्लामा ६४ जना कर्मचारी परिचालन गरिएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *