स्वीकृतिबिना शुल्क बढाएको पाइयो

Post Date : May 11, 2016 | 9:34 pm

काठमाडौँ, २९ वैशाख । निजी विद्यालयले शिक्षा मन्त्रालयको स्वीकृतिबिना नै शुल्क बढाएको पाइएको छ ।

आज शिक्षा मन्त्रालय, विद्यार्थी सङ्गठन र अभिभावकले गरेको अनुगमनमा विद्यालयले मन्त्रालयबाट स्वीकृत नै नगराएर शुल्क बढाएको पाइएको हो । मन्त्रालयका प्रवक्ता डा हरि लम्सालको अगुवाइमा आज ललितपुरस्थित रातो बङ्गला र आइडियल मोडल स्कुलको अनुगमन गरिएको थियो ।

विद्यालयले मन्त्रालयको स्वीकृतिबिना नै शुल्क बढाएको पाइएको अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी गराउनुभयो । विशिष्ट श्रेणीका स्कुलले दुईतिहाई अभिभावकको भेलाबाट शुल्क पास गराई मन्त्रालयबाट स्वीकृत गराउनु पर्दछ ।

“अभिभावकको भेलाबाट स्वीकृत गरेपनि मन्त्रालयबाट भने स्वीकृत गराएको पाइएन”–उहाँले भन्नुभयो, “त्यसरी मन्त्रालयको स्वीकृतिबिना शुल्क बढाउन पाइन्न ।”

उहाँकाअनुसार अनुगमनका क्रममा रातो बङ्गलाले कक्षा १ मा २५ हजार र आइडियल मोडेलले रु १५ हजार ४५ मासिक शुल्क लिएको पाइएको छ । आइडियलले १० प्रतिशत शुल्क बढी लिएको पाइएको छ ।

अनुगमनका क्रममा रातो बङ्गलामा तोकिएको भन्दा बढी मूल्यका पाठ्यक्रम पाइएको छ ।
मन्त्रालयले सोमबारदेखि काठमाडौँ उपत्यकाका निजी विद्यालयको शुल्क, छात्रवृति र पाठ्यक्रमको अनुगमन सुरु गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले स्कुलको अनुगमन क्रममा भेटिएका बेथितीबारे प्रतिवेदन तयार पारेर केन्द्रीय अनुगमन समितिलाई बुझाइने बताउनुभयो । “हामीले आफ्नो भागमा परेका पाँच विद्यालयको अनुगमन सक्यौँ”–उहाँले भन्नुभयो, “अनुगमनमा जे भेटियो त्यसको प्रतिवेदन तयार गरेर समितिलाई बुझाउँछौँ ।”

शिक्षा विभागका महानिर्देशक खगराज बरालको संयोजकत्वमा केन्द्रीय अनुगमन समिति रहेको छ । सोमबारदेखि काठमाडौँ र ललितपुरमा अनुगमन सुरु गरेको प्रवक्ता डा लम्सालको समूहले रातो बङ्गला, आइडियल, ग्यालेक्सी पब्लिक, अक्सिडेन्टल र बृहस्पति विद्यासदनको अनुगमन गरेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *