हावाहुरीबाट करोडौँको केराखेती नष्ट

Post Date : May 13, 2016 | 11:18 am

राजविराज, ३१ वैशाख । मङ्गलबार राति अचानक आएको हावाहुरीबाट सप्तरीको पूर्वी भेगमा हजारौँ बिघामा लगाइएको केराखेती नष्ट भएको छ ।

सप्तरीको भारदह–१ स्थित कोसी पलारमा हजारौँ बिघामा लगाइएको केरा खेतीमा हावाहुरीले क्षति पुरयाएको छ ।

त्यस्तै, हनुमाननगर योगिनिमाई नगरपालिका–२ स्थित कोसी पलारमा करिब ५०० बिघामा लगाइएको केरामा समेत क्षति पुगेको स्थानीयवासीले बताएका छन् । हावाहुरीका कारणले केरा खेतमै आधी भाँचिएपछि केराका घरी भुइँमै यत्रतत्र थुप्रिएको छ भने अधिकांस केरा जरादेखिनै उखेलिएका छन् ।

महँगो मूल्यतिरेर मलखाद तथा कीटनाशक औषधि लगाएर केरा खेती गरे पनि मङ्गलबार राति आएको हावाहुरीले करोडौँ मूल्य बराबरको केरामा क्षति पुरयाउँदा ढाड भाँचिएको जस्तो भएको स्थानीय कृषक श्यामसुन्दर खड्काले गुनासो गर्नुभयो । यहाँका किसानले दिनरात मिहेनत गरेर ऋण उठाएर भएपनि करोडको लागतमा लगाएको केरामा आएको हावाहुरीले क्षति पुरयाउँदा आफू झन् समस्यामा परेको कृषक रामदेव माझीले बताउनुभयो ।

किसानको आयआर्जनका लागि आधार भनेको केरा खेती नै रहेको हनुमाननगर योगिनिमाई नगरपालिकाका केरा कृषक अशोक माझीले बताउनुभयो । यहाँ उत्पादन भएको केरा नेपालको राजधानी काठमाडाँैसहित पोखरा, नेपालगन्ज, भैरहवा, बुटवल र पूर्वको झापा, कांकडभिट्टा, इलाम, धनकुटाजस्ता अन्य जिल्ला र सहरमा बिक्री–वितरणका लागि जाने गरेको केरा व्यापारी तथा कृषक इन्द्रदेव लौगीले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *