हिमपात सुरु –यार्सागुम्बाको गुणस्तरमा वृद्धि

Post Date : March 10, 2017 | 4:50 pm

दुनै (डोल्पा), २७ फागुन । डोल्पामा आज बिहानैदेखि हिमपात सुरु भएको छ ।

गत बुधबारदेखिको लगातार वर्षापछि जिल्लाभर हिमपात सुरु भएको हो । वर्षासँगैको भारी हिमपातले बढेको अत्यधिक चिसोका कारण डोल्पालीको दैनिकी कष्टकर बनेको छ । डोल्पामा हिमपात अहिले पनि जारी रहेको छ ।

झन्डै तीन महिनाको चरम खडेरीपछि परेको वर्षासँगैको भारी हिमपातले कृषिजन्य उत्पादनमा वृद्धि हुने आशामा डोल्पाली कृषकमा उत्साह छाएको छ ।

वर्षा र हिमपातले यसवर्षको कृषिजन्य उत्पादनमा समेत वृद्धि हुने भन्दै उनीहरुमा उत्साह छाएको हो । त्रिपुराकोट–२ का कृषक भीमप्रसाद देवकोटाका अनुसार लम्बिँदो खडेरीले खेतबारीका अन्नबाली सुक्न थालेको थियो ।

खाद्यवस्तु उत्पादन घट्ने भन्दै किसान चिन्तित भएका थिए तर ढिलै भए पनि वर्षा भएको छ, यसबाट गरिखाने कृषकलाई केही भए पनि राहत भयो – उहाँले भन्नुभयो । यस पटकको वर्षासँगैको हिमपातले उत्पादन परिमाणमा समेत १० प्रतिशतले वृद्धि हुने कृषि विकास कार्यालय डोल्पाले जनाएको छ ।

कृषि विकास कार्यालय डोल्पाकाअनुसार पानी परेपछि जेठदेखि असारसम्ममा पाक्ने गरी खेतबारीमा लगाइएको, जौ, गहँु, उवा, आलुलगायतका अन्नबालीको उत्पादनमा वृद्धि हुने छ । यहाँ उत्पादन हुने स्याउ, ओखर उत्पादनसमेत राम्रो भए पनि ढकमक्क फुलेको आरुलाई भने असर गर्ने कृषि विकास कार्यालय, डोल्पाका प्राविधिक सहायक सम्पती बुढाले जानकारी दिनुभयो ।

कर्णालीमै स्याउ, ओखर, आरुलगायत फलफूल उत्पादनमा डोल्पा पकेट क्षेत्रका रुपमा चिनिन्छ । लामो समयसम्मको खडेरीले पशु चरन क्षेत्र पनि सुकेको थियो । जसकारण पशुपालक कृषकलाई ठूलो समस्या उत्पन्न भएको थियो । तर पानीसंगै परेको हिमपातका कारण वनपाखामा घाँसपात प्रशस्तै पलाउने भएकाले पशुपालक कृषकमा झनै उत्साह छाएको छ । डोल्पामा मुख्य आयआर्जनको स्रोतमध्ये पशुपालन पनि एक हो ।

यार्सागुम्बा परिमाण तथा गुणस्तरमा वृद्धि

यसपालिको भारी हिमपातले डोल्पामा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बाको परिमाण तथा गुणस्तरमा समेत वृद्धि हुने जिल्ला वन कार्यालय, डोल्पाले जनाएको छ ।

यहाँ यार्सागुम्बा पाइने पाटनहरु मात्र ३०० भन्दा बढी रहेका छन् । ती पाटनमा वर्षमा हजारौँ किलो यार्सागुम्बा सङ्कलन गरिन्छ । बहुमूल्य जडीबुटी यार्सागुम्बा उच्च हिमाली क्षेत्रका तीन हजार ५०० देखि चार हजार मिटरसम्मको उचाइमा पाइने भएकाले यसका लागि अत्यधिक चिसो र समयमै हिमापात आवश्यक पर्ने वन कार्यालयले जनाइएको छ ।

यस वर्ष समयमै भारी हिमपात र वर्षा भएकाले तुलनात्मक रुपमा यार्सागुम्बा धेरै पाइने स्थानीय यार्सा सङ्कलकको दाबी छ । यार्सागुम्बा सङ्कलनका लागि बर्सेनि हजारौँ सर्वसाधारण डोल्पाका यार्सागुम्बा पाटनमा पुग्ने गर्छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *