होटल व्यवसायमा लगानी बढ्दै

Post Date : October 24, 2016 | 3:14 pm

नेपालगन्ज, ८ कात्तिक । विगत चार वर्षको अवधिमा यहाँका होटल व्यवसायमा लगानी बढेको छ ।

मध्यपश्चिमाञ्चलको व्यापारिक सहर नेपालगन्जको होटल तथा पर्यटन व्यवसायमा पछिल्लो आँकडाअनुसार रु पाँच अर्बभन्दा बढी लगानी भएको हो ।

होटल अर्गनाइजेसन नेपाल नेपालगन्ज शाखाका अनुसार, पछिल्लो चार वर्षको अवधिमा सहरका होटल व्यवसायमा मात्र करिब रु एक अर्ब लगानी थप भएको छ ।

शान्ति सुरक्षामा आएको सुधार र पर्यटकको आगमन बढेकाले यहाँ ठूला अनि सुविधा सम्पन्न होटल निर्माणको क्रम पनि ह्वात्तै बढेको पाइन्छ ।

अर्गनाइजेसनका अनुसार, द्वन्द्वका समयमा असुरक्षाका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन घटेपछि बन्द गरिएका होटल पनि अहिले धमाधम खुल्दै गएका छन् भने पुराना स्नेह, किचनहट र सिद्धार्थ भ्यूलगायत ठूला होटलमा अहिले लगानीसमेत बढेकाले पर्यटकलाई सहज भएको छ ।

यस क्षेत्रमा पर्यटनको सङ्ख्या वृद्धि गर्न आकर्षक होटलमात्र पर्याप्त नभएकाले पर्यटनको सम्भावना रहेको स्थानलाई समेत व्यवस्थित बनाउन सरकारी चाँसोसमेत हुनुपर्ने अर्गनाइजेसनको सुझाव छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *