२०७४ बैशाख १ गतेदेखि सवारी साधनमा ‘इम्बोस्ड नम्बर प्लेट’

Post Date : March 15, 2017 | 6:21 pm

काठमाडौँ, २ चैत । नेपाल सरकारले २०७४ साल बैशाख १ गतेदेखि सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को तेस्रो संशोधनको नियम ४ को उपनियम ४ मा भएको व्यवस्थाको कार्यान्वयनका लागि सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’ लागू गर्न लागेको हो । पहिलो चरणमा कूटनैतिक नियोग र सरकारी सवारीसाधनमा लागू गरिनेछ । यी दुवै निकायको ४० हजार सवारीसाधन (२ पाँग्रे र ४ पाँग्रे) मा इम्बोस्ड नम्बर प्लेट राखिने कामको थालनी हुनेछ ।

सवारी साधनलाई व्यवस्थित गर्न प्रचलनमा ल्याइएको धातुको प्लेटमा यान्त्रिक माध्यमबाट अंक र अक्षर राखिने प्रणालीलाई ‘इम्बोस्ड नम्बर प्लेट’ भनिन्छ । ‘इम्बोस्ड नम्बर प्लेट’ मा साना–साना सातवटा संकेत अक्षर राखिएका हुन्छन् । जसलाई मेसिनले मात्र पढ्न सक्छ । इम्बोस्ड नम्बर प्लेटको पछाडि भागमा ‘बारकोड’ राखिएको हुन्छ । जसमा कम्पनीको नाम, मिति, संकेत आदि राखिएको हुन्छ । इम्बोस्ड नम्बर प्लेटमा ‘रेडियो फ्रिक्वेन्सी इन्फर्मेसन डिभाईस’ राखिएको हुन्छ । जसले सवारीसाधन के, कहाँ कतिवटा आए/गए भन्ने तथ्याङ्क ‘गेट वे’ को माध्यमबाट लिन सकिन्छ । काठमाडौँ उपत्यकामा ५ वटा र उपत्यका बाहिर ५ वटा गेट वे स्थापना हुनेछ ।

सरकारी सवारीसाधनमा सेतो प्लेटमा रातो अक्षर र अंक, निजी सवारीसाधनमा सेतो प्लेटमा कालो अक्षर र अंक रहनेछ । त्यस्तै कूटनीतिक नियोगका सवारीसाधनमा सेतो प्लेटमा निलो अंक र अक्षर रहनेछ ।

यातायात व्यवस्था विभागले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट बनाउन दुई पाँग्रेलाई २ हजार ५ सय रुपैयाँ र चार पाँग्रेलाई ४ हजार रुपैयाँ शुल्क तोकेको छ । यो विभागले तोकेको शुल्क मन्त्रिपरिषदले पारित गरेमा लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *