अकबरे खुर्सानीबाट वार्षिक तीन लाख आम्दानी

Post Date : June 7, 2016 | 3:04 pm

पाँचथर, २५ जेठ । तारावीर नेम्बाङ अकबरे खुर्सानीखेती गरेर अहिले जिल्लामा एक सफल व्यवसायी पहिचान बनाउनुभएको छ ।

पाँचथर जिल्लाको चिलिङदेन गाविसमा २०२२ सालमा जन्मनु भएका उहाँको कृषि विषय लिएर उच्च शिक्षा हासिल गर्ने धोको थियो तर कमजोर आर्थिक अवस्थाका कारण एसएलसी भन्दामाथिको शिक्षा हासिल गर्न सक्नुभएन ।

उच्चशिक्षा हासिल गर्न नसकेपछि उहाँमा सफल किसान बन्ने इच्छा पलायो । दुई छोरी र एक छोरा गरी पाँचजनाको परिवार भएका नेम्बाङ विसं २०५६ देखि यसको खेती गर्दै आउनुभएको छ । आफूसँग भएको एक रोपनी जमिनबाट व्यावसायिक रुपमा अकबरे खेती गर्न सुरु गर्नुभएका नेम्बाङले सोही क्षेत्रफलको जमिनबाट सुरुमा वर्षमा रु ३५ हजारसम्म आम्दानी लिन सफल हुनुभएको थियो ।

पाँचथर जिल्लामा व्यावसायिक रुपमा अकबरे खुर्सानीखेती सुरु गर्ने पहिलो किसान उहाँ नै भएको जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको छ ।

नेम्बाङले भन्नुभयो – “परम्परागत रुपमा घरमा प्रयोग गर्न मात्र हैन बेचेर राम्रो आर्जन सकिन्छ भन्ने देखाउन पनि अकबरे खुर्सानीखेती गरेको हुँ ।” सुरुवातमा उहाँले एक रोपनी जग्गामा अकबरे खेती गर्दा निकै चुनौतीको सामना गर्नुपरेको थियो । त्यो अवस्थामा यातायात र बजारको अभाव जस्ता विभिन्न चुनौतीको सामना गर्दै उहाँले खुर्सानी खेतीलाई व्यवसायीकरण गर्न निरन्तर लागिरहनु भयो ।

हाल १५ रोपनी जग्गाबाट वार्षिक १५ क्विन्टल उत्पादन गरेर तीन लाखभन्दा बढी आम्दानी गर्न सकेको उहाँले बताउनुभयो ।

खुर्सानी खेतीबाट भएको आम्दानीले घर व्यवहार चलाउन र स्वास्थ्य उपचार खर्च जुटाउन कुनै समस्या नभएको उहाँ बताउनुहुन्छ । उहाँ अकबरे खुर्सानीको आम्दानीबाटै एक छोरा र एक छोरीलाई कक्षा १२ सम्म अध्ययन गराउन सफल हुनुभएको छ ।

साथै उहाँले झापा काँकडभिटा मेचीनगर–१० मा ६ धुर घडेरी खरिद गरी घर पनि बनाई सक्नुभएको छ । नेम्बाङ खुर्सानी व्यवसायी मात्र नभई एक समाजसेवीको रुपमा परिचित हुनुहुन्छ । उहाँकै पहलमा चिलिङदेन गाविसका अधिकांश किसान विगतका केही वर्षदेखि व्यावसायिक रुपमा अकबरे खुर्सानी खेती गर्न थालेका छन् ।

उत्पादन बढेर स्थानीय बजारमा खपत हुन नसक्ने भएपछि नेम्बाङकै पहलमा २०६९ सालमा श्रीजङ्गा कृषि सहकारी संस्था खोलेर त्यसैमार्फत वार्षिक २० देखि २५ टन खुर्सानी इटहरीस्थित अचार उद्योग रिजाल टासीलाई बेच्ने काम भइआएको छ । तारावीर सोही संस्थाको अध्यक्ष पनि हुनुहुन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *