अण्डाको उत्पादन घट्यो

Post Date : November 3, 2016 | 2:51 pm

चितवन, १८ कात्तिक । नेपालमा विगत एक दशकयता वैधानिक रुपमा बिक्री गर्नका लागि छिमेकी मुलुकबाट अण्डा आयात गरिएको छैन ।

देशको उत्पादनले माग धानिरहेको व्यवसायीले बताइरहेका छन् । सरकार औपचारिक रुपमा नेपाल अण्डामा आत्मनिर्भर भएको भनेर घोषणा गर्ने तयारीमा छ । तर यतिबेला अण्डाको उत्पादन भने निकै घटेको छ ।

सरकारको तथ्याङ्क अनुसार ६४ जिल्लामा २१ हजार ९५६ फार्म/किसाने व्यावसायिकरुपमा कुखुरापालन गरेको पाइएको छ । मुलुकमा करिब ६९ लाख अण्डा उत्पादन गर्ने लेयर्स कुखुरा पालिँदै आएको छ । चितवनमा मात्रै ४० लाख ६८ हजार लेयर्स कुखुरा पालिएका छन् । यो कुल सङ्ख्याको ५८ दशमलव प्रतिशत हो ।

त्यस्तै, मुलुकमा गत आवमा एक अर्ब २० करोड २१ लाख ६६ हजार गोटा अण्डा उत्पादन भएको अनुमान गरिएको छ । चितवनमा ८१ करोड १९ लाख वटा अण्डा उत्पादन गरिएको थियो । यो देशको कुल उत्पादनको ६८ प्रतिशत हुन आउँछ ।

तर पछिल्लो समयमा अण्डा उत्पादनमा ह्रास आएको छ । नेपाल अण्डा उत्पादक सङ्घका महासचिव त्रिलोचन कँडेल चितवनमा अण्डाको कुल उत्पादनको ३० प्रतिशत ह्रास आएको बताउनुहुन्छ । देशभरको तथ्याङ्कलाई हेर्दा २५ प्रतिशतले अण्डा उत्पादनमा कमी आएको छ ।

जिल्लामा अण्डा उत्पादन गर्ने क्रम घट्दो छ भने बाहिरी जिल्लामा अण्डा उत्पादन बढ्दै गएको छ । मुख्य रुपमा नाकाबन्दीको समयमा किसानले खोरमा चल्ला हाल्न नपाउँदा समस्या भएको महासचिव कँडेलले बताउनुभयो । अण्डा पार्ने कुखुराको चल्ला उत्पादन गर्ने माउ (प्यारेन्ट) तेस्रो मुलुकबाट ल्याउनु पर्ने हुन्छ । नाकाबन्दीले चल्ला बिक्री नभएपछि ह्याचरी उद्योगले चल्ला पुर्ने र चल्ला नै उत्पादन नगरी अण्डा नष्ट गर्न बाध्य भएका थिए । यसको प्रभाव आउँदो असार महिनासम्म पर्ने पोल्ट्री व्यवसायी मञ्चका पूर्वअध्यक्ष डा तिलचन्द्र भट्टराई बताउनुहुन्छ ।

नेपाल विगत १२ वर्षदेखि अण्डामा आत्मनिर्भर रहेको भन्दै डा भट्टराईले अण्डा घटेका बेला सरकारले आत्मनिर्भर घोषणा गर्न लागेको बताउनुभयो । उहाँले तथ्याङ्क संयोजन मात्रै अहिले गरिएको बताउनुभयो । जग्गाको मूल्य अस्वाभाविक वृद्धि भएका कारण पनि व्यवसायीले फार्म गरिएको जग्गा प्लटिङ गरेर बिक्री गर्ने, कुखुरा पाल्ने साना किसान जग्गाको व्यापारमा दौडिने गर्दा उत्पादनमा कमी आएको व्यवसायीको भनाइ छ ।

पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट कुखुरामा देखिने रुघाखोकी एच ९ को खोप ल्याउन नपाउँदा कुखुरा मरेर उत्पादन घटेको बताउनुहुन्छ । “सरकारले कुखुरालाई अत्यावश्यक पर्ने खोप ल्याउन नदिँदा व्यवसाय प्रभावित बनेको हो,” उहाँले भन्नुभयो । अण्डाको उत्पादनमा कमी आएसँगै माग बढेको छ भने मूल्यमा पनि वृद्धि भएको छ । अण्डाको फार्म मूल्य प्रतिक्रेट रु ३२५ देखि रु रु ३०० रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *