अदुवाले मूल्य नपाएपछि किसान चिन्तित

Post Date : November 3, 2016 | 2:44 pm

पाल्पा, १८ कात्तिक । पाल्पाको प्रमुख नगदेबाली अदुवाले मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् ।

दसँै–तिहारका बेला अदुवाको राम्रो बजार मूल्यको खोजीमा रहेका किसानले अदुवाको मूल्य ओरालो लागेपछि झनै समस्यामा परेका हुन् । गत वर्ष प्रतिकिलो एक सय २० भन्दा माथि रहेको अदुवा अहिले ५० रुपैयाँभन्दा कम मूल्य भएपछि अदुवाको कारोबार प्रभावित भएको छ ।

विशेषगरी दसँैतिहारका बेला अदुवाको राम्रो मूल्य हुने गर्दथ्यो तर यसपालिको दसँैमा अदुवाको मूल्य झनै ओरालो लागेको किसानको भनाइ छ । पाल्पा मुभुङ्ग अदुवा सङ्कलन केन्द्रका सञ्चालकका अनुसार नयाँलाई प्रतिकिलो २० रुपैयाँ, पुरानोलाई प्रतिकिलो ५० रुपैयाँभन्दा कम मूल्य रहेकोले किसानलाई निकै मर्का परेको बताउनुहुन्छ । रु सयभन्दा बढी मूल्यमा खरिद गरी अदुवा रोपेका किसानलाई अहिले अदुवाको भाउ घटेपछि निकासी हुन सकेको छैन ।

अदुवाको मूल्य राम्रो नभएपछि किसानले अदुवा बारीबाट समेत खनेका छैनन् । जिल्लाका पश्चिम भैरवस्थान, कुसुमखोला, पालुङ्गमैनादी मुभुङ्ग, छहरा, सोमादी, भुवनपोखरी लगायतका गाविसबाट ठूलो मात्रामा अदुवा भारत निकासी हुने भएपनि यसपालि अदुवाको बजार राम्रो नभएपछि अदुवा किसानको बारीमा नै रहेको छ ।

भारतीय बजारमा अदुवाको निकासी हुने भए पनि यसपालि भारतीय बजारमा अदुवाको माग कम भएकाले नेपालमा उत्पादित अदुवाले बजार पाउन सकेको छैन । अदुवालाई सुकाएर सुठो बनाउन सकेको अवस्थामा आम्दानी राम्रो हुने थियो । मुभुङ्ग–७ का जङ्गबहादुर आलेका अनुसार अदुवाको मुल्य राम्रो नभएकाले अदुवा अझै बारीमा नै रहेको बताउनुहुन्छ । पैसा राम्रो नभएपछि बारीमा रहेको अदुवा खनेर बेच्दा खरिद मूल्यसमेत नउठ्ने किसानको भनाइ छ ।

पाल्पाको पश्चिम भेगमा सङ्कलित अदुवा जिल्लाको दोभान गाविसको प्रमुख सङ्कलन केन्द्रमा सङ्कलन गरी भारत निकासी हँुदै आएको छ । बजारमा अदुवाको मूल्य न्यून रहेपछि अदुवा सङ्कलन हुन समस्या भएको अदुवा सङ्कलन केन्द्रका सञ्चालक बताउँछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *