अदुवा प्रशोधन उद्योग स्थापना

Post Date : June 13, 2016 | 4:50 pm

वालिङ, ३१ जेठ । अदुवाको उत्पादन वृद्धि गर्दै पेसालाई व्यावसायिकरुपमा अगाडि बढाउने उद्देश्य राखेर वालिङमा अदुवा तथा कृषि प्रशोधन उद्योग स्थापना गरिएको छ ।

कृषि मन्त्रालयअन्तर्गत उद्योग वाणिज्य महासङ्घ कृषि उद्यम केन्द्र र वालिङ उद्योग वाणिज्य सङ्घको संयुक्त लागतमा उक्त प्रशोधन केन्द्र स्थापना गरिएको हो । उद्योगको लागत रु छ करोड अनुमान गरिएको छ निर्माण कम्पनीका प्रबन्ध निर्देशक शिवलाल डुम्रेले बताउनुभयो । स्याङ्जासहित पाल्पा, पर्वत, बागलुङ, तनहुँ, म्याग्दी लगायतका जिल्लामा उत्पादन गरिएको अदुवा यस उद्योगमा प्रशोधन गर्न सकिने छ ।

“एक गाउँ एक उत्पादन कार्यक्रमअन्तर्गत अदुवा खेतीलाई अगाडि बढाएका छौँ”, वालिङ अदुवा तथा कृषि प्रशोधन उद्योगका अध्यक्ष अर्जुनप्रसाद खनालले भन्नुभयो– “ आगामी असारबाट परीक्षण उत्पादन सुरु गर्ने तयारीमा छौँ ।”

उद्योगले यस वर्ष किसानलाई १५ क्विन्टल र गत वर्ष २५ किलो अदुवाको बीउ वितरण गरेको थियो । उद्योग सञ्चालनमा आएपछि यहाँ उत्पादन भएको अदुवा तथा अन्य तरकारीलाई प्रशोधन गरेर क्वारेन्टाइन पास गर्ने व्यवस्था समेत मिलाएको प्रबन्ध निर्देशक डुम्रेले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *