अनलाइनमार्फत राहदानी लिने बढे

Post Date : August 22, 2016 | 6:09 pm

काठमाडौँ, ६ भदौ । राहदानी विभागले प्रि–इन्रोलमेन्ट (अनलाइनमार्फत राहदानी आवेदन) सेवा सुरु गरेसँगै दैनिक एक हजारदेखि एक हजार ५०० मानिसले अनलाइनमार्फत फाराम भर्ने गरेका छन् ।

राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले घरमै बसेर राहदानी भर्न सकिने भएकाले प्रि–इन्रोलमेन्ट सेवाप्रति ग्राहकको आकर्षण बढ्दै गएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “कार्यालय गएर लाइन बस्दा भीडभाड र समय खेर जाने भएकाले प्रि–इन्रोलमेन्टतर्फ ग्राहकको आकर्षण बढेको हो ।”

महानिर्देशक थापाले वृद्धवृद्धा, अपाङ्ग, केटाकेटी र विशेष परिस्थितिमा बाहेक सम्पूर्णको अनलाइनमार्फत फाराम लिन थालेको बताउनुभयो ।

उहाँले ग्राहकले अनलाइनमार्फत राहदानी भर्न नजान्दा सुरुमा केही समस्या देखापरेको भए पनि अहिले अनलाइनमार्फत फाराम भर्नेको सङ्ख्यामा बढेको उल्लेख गर्नुभयो । अनलाइमार्फत भरेको फाराममा केही त्रुटि भए तत्काल खबर गरिदिने हुँदा प्राविधिक त्रुटि र झन्झट हट्ने थापाको भनाइ छ ।

विभागले गत असार १९ गतेदेखि प्रि–इन्रोलमेन्ट सेवा प्रदान गर्दै आएको हो । हालसम्म प्रि–इन्रोलमेन्ट सेवामार्फत दुई हजार ६८३ ले एकैदिनमा राहदानी लिएका छन् भने एक हजार ५८० जनाले दुईदिनमा राहदानी लिएको विभागले जनाएको छ ।

केही समय अगाडिदेखि नै विभागले एकदिन र दुईदिनका लागि प्रि–इन्रोलमेन्ट सेवा लिँदै आए पनि अब भने जुनसुकै दिनमा राहदानी लिए पनि उक्त सेवा लिनुपर्नेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *