अनुदान वितरण गर्न समझदारी

Post Date : May 27, 2016 | 5:50 pm

काठमाडौँ, १४ जेठ । भूकम्पले क्षति भएका निजी आवास निर्माणका लागि सरकारले उपलब्ध गराउने अनुदान रकम सेवाग्राहीलाई वितरण गर्नका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र तीन बैंकर्स एसोसिएसनबीच सम्झौता भएको छ ।

अनुदान रकम वितरण गर्न प्राधिकरण एवम् क, ख र ग वर्गलाई प्रतिनिधित्व गर्ने इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थालाई प्रतिनिधित्व गर्ने नेपाल बैंकर्स एसोसिएसन, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र फाइनान्सियल इन्स्टिच्युसन एसोसिएसनबीच आज २१ बुँदे सम्झौता भएको हो ।

सम्झौतामा प्राधिकरणको कार्यकारी समितिले अनुमोदन गरेको लाभग्राहीको नामावली विद्युतीय माध्यममार्फत तोकिएका बैंक तथा वित्तीय संस्थालाई पठाउने र संस्थाले लाभग्राहीको एकमुष्ट खाता खोलिदिने समझदारी गरिएको प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिनुभयो ।

“सम्झौताअनुसार सदरमुकाममा रहेका बैंकका शाखाले दैनिक न्यूनतम ५० र सदरमुकाम बाहिरका बैंकका शाखाले दैनिक २० लाभग्राहीको खातामार्फत हुने कारोबार निःशुल्क हुने व्यवस्था मिलाइएको छ, यसभन्दा बढी लाभग्राहीलाई पहिलो किस्ताबापतको अनुदान वितरण गर्दा प्रतिलाभग्राही शुल्क रु २२५ का दरले सम्बन्धित बैंकलाई भुक्तानी दिने व्यवस्था मिलाइने समझदारी भएको छ,” उहाँले भन्नुभयो ।

बैंकले लाभग्राहीलाई डेबिट कार्ड उपलब्ध गराएको अवस्थामा प्राधिकरणले प्रतिग्राहक रु ३२५ उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । रु दुई लाख अनुदानमध्ये दोस्रो र तेस्रो किस्ताको रकम उपलब्ध गराउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरे बमोजिम हुने प्राधिकरणले जनाएको छ ।

रकम भुक्तानी गर्दा बैंक तथा वित्तीय संस्थाले निजी आवास अनुदान वितरणसम्बन्धी कार्यविधि, २०७२ एवम् राष्ट्र बैंकको निर्धारित मापदण्ड तथा समय समयमा दिएको निर्देशनको पालना गरिनुपर्ने व्यवस्था गरिएको छ । बैंकिङ प्रणालीमार्फत निजी आवास अनुदान वितरण प्रक्रियामा आवश्यक समन्वय र सहजीकरणका लागि प्राधिकरणको संयोजकत्वमा अर्थ, सङ्घीय मामिला तथा स्थानीय विकास, सूचना तथा सञ्चार, गृह र ऊर्जा मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, राष्ट्र बैंक एवम् तीनैवटा एसोसिएसनका प्रतिनिधि रहेको अनुदान रकम वितरण सहजीकरण समितिको व्यवस्था गरिएको छ । समझदारीपत्र आजैदेखि लागू हुने प्राधिकरणले जनाएको छ ।

पत्रमा प्राधिकरणका प्रवक्ता थपलिया, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष कृष्णराज लामिछाने र नेपाल फाइनान्सियल इन्स्टिच्युसन एसोसिएसनका अध्यक्ष सरोजकाजी तुलाधरले हस्ताक्षर गर्नुभएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *