अनुदान सम्झौता गर्न गाउँ पस्दै भूकम्पपीडित

Post Date : July 5, 2016 | 12:52 pm

मेलम्ची, २१ असार । भूकम्पपछि बासस्थान गुमाएर राजधानी काठमाडौँ र जिल्ला बाहिर बस्दै आएका भूकम्पपीडित आवास पुनःनिर्माणको लागि अनुदान सम्झौता गर्न यतिबेला आफ्नो गाउँ धाउँदै छन् ।

भूकम्पपछि थातथलो मेटिएपछि बस्नको निमित्त सुरक्षित बासस्थान खोज्दै सुविधा सम्पन्न मानिने नेपालको राजधानी तथा नजिकको जिल्ला र गाविसमा बस्दै आएका सिन्धुपाल्चोक जिल्लाका भूकम्पपीडित अनुदान सम्झौताका लागि आफ्नो गाविसमा लर्को लाग्ने गरेको देखिन्छ ।

भूकम्प गएको १३ महिना बित्दै गर्दा आवास पुनःनिर्माणको लागि अनुदान सम्झौताको लागि सिन्धुपाल्चोक जिल्लालगायत विभिन्न जिल्लामा अनुदान सम्झौताको कार्यमा यतिबेला सरकार लागिपरेको छ ।

भूकम्पपछि काठमाडौँ चाबहिल बस्दै आउनुभएका सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१२ कि गीता दाहाल अनुदान सम्झौताको लागि वडा कार्यालय आएको बताउनुभयो । सरकारले अनुदान वितरण गरेपछि मात्र आफ्नो बासस्थान निर्माण गर्न गाउँ फर्कने दाहालले बताउनुभयो ।

भूकम्पपछि जिल्ला बाहिर बस्ने पीडित धमाधम अनुदान सम्झौता गर्न गाउँ पसेको नेपाली काँग्रेस क्षेत्र नं ३ का सभापति आइतमान तामाङले बताउनुभयो ।

तामाङ भन्नुहुन्छ “भूकम्पपछि सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं ३ बाट जिल्ला बाहिर गएर बस्नेको सङ्ख्या धेरै छ त्यसमध्ये पनि जिल्लाको हिमाली क्षेत्र हेलम्बु, बरुवा, गुन्सा, भोताङका बासिन्दा सबैभन्दा बढी रहेका छन् । सरकारले भूकम्पपीडितलाई पुनःनिर्माणको रकम दिनको लागि अनुदान सम्झौता गर्न थालेपछि जिल्लाभर अन्यत्र गएर बस्ने पीडितको घुइँचो लागेको हो ।

यसैबीच, अनुदान सम्झौताकोे क्रममा मेलम्ची नगरपालिकाको चारवटा वडामा एक हजार ७१६ घरधुरीको अनुदान सम्झौता भएको र जम्मा १६१ वटा गुनासो आएको छ भने ११८ घरघुरीको अनुदान सम्झौता हुन बाँकी छ ।

नगरपालिकाको वडा नं ३ र ४ को सिन्धुकोटमा ८०५ घरधुरीको अनुदान सम्झौता भएको छ भने नाम छुटेको तथा नाम सच््याउन पर्ने भन्दै ७२ वटा गुनासो आएको वडा सचिव होमनाथ दाहालले बताउनुभयो । सिन्धुकोटमा अनुदान सम्झौता गर्न ४६ घरधुरी रहेको तथ्यांक छ ।

त्यस्तै, मेलम्ची नगरपालिका १२ र १३ वडा पनि अनुदान सम्झौताको कार्य भइरहेको र हालसम्म ९२६ घरधुरीको सम्झौता भएको छ भने ८९ वटा गुनासो आएको वडा सचिव दाहालले बताउनुभयो ।

हालसम्म जिल्लाभर ३४ हजार ३६२ घरधुरीको अनुदान सम्झौता भइसकेको छ भने सात हजार ६०० वटा गुनासो आएका छन् । हालसम्म जिल्लाको चौतारा नगरपालिकाको मात्र ११ हजार ९५ जनाको बैंक खातामा अनुदानको रु ५० हजार पठाइएको पुनःनिर्माण प्राधिकरण सम्पर्क कार्यालय सिन्धुपाल्चोकका प्रमुख भुवनेश्वर लामिछानेले बताउनुभयो । (आदित्य दाहाल) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *