अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल चितवनमा

Post Date : June 1, 2016 | 4:43 pm

चितवन, १९ जेठ । सरकारले बजेट विनियोजन गरेपछि भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनीस्थल निर्माण हुने भएको छ ।

उद्योग सङ्घ चितवनको अगुवाइमा भरतपुरको घरेलु तथा साना उद्योग कार्यालय परिसरमा प्रदर्शनी स्थलको निर्माण हुने भएको हो । आव २०७३/७४ मा स्थल निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको छ । प्रदर्शनी निर्माण समितिका संयोजक कृष्णप्रसाद अधिकारीका अनुसार, रु २५ करोडको लागतमा प्रदर्शनी स्थल निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ ।

निर्माणका लागि रु १५ करोड सरकारसँग माग गरिएको थियो । बजेटमा रकम उल्लेख गरेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रु सात करोड ५० लाख बजेटमा विनियोजन गर्नुभएको छ । बाँकी रकम अन्य क्षेत्रबाट उपलब्ध गराउने आश्वासन दिनुभएको संयोजक अधिकारीले बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष समेत रहनुभएका अधिकारीका अनुसार अपुग रकम परिसङ्घ, उद्योगी व्यवसायी र दातृ निकायबाट जुटाइदै छ । आउँदो वर्षको असार मसान्तसम्ममा काम सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेको उहाँले बताउनुभयो ।

प्रदर्शनी केन्द्र ५१ हजार वर्गफिटको हुनेछ । सँगै ठूला उपकरण प्रदर्शनी गर्नका लागि ३० हजार वर्गफिट व्यवस्थित खुला ठाउँ समेत रहने छ । प्रदर्शनी केन्द्रमा तीन हजार वर्गफिटको सूचना केन्द्र हुनेछ । उद्योग, कृषि, पर्यटनलगायतको सूचना उपलब्ध गराइने छ । प्रदर्शनी केन्द्रमै दुई हजार ५०० वर्गफिटको बाल उद्यान केन्द्र समेत निर्माण गरिँदैछ । सँगै दुई हजार वर्गफिटमा खाना र परिकारका कक्ष रहने बताइएको छ ।

प्रदर्शनी केन्द्रको मुख्य भागमा २५० वटा कक्ष एकैसाथ राख्न मिल्नेछ भने राष्ट्रिय र अन्तर्राष्ट्रिय उत्पादन प्रदर्शनी गर्न सकिने छ । दसैँ र तिहारमा मेला हुनेछ भने अन्य समयमा नियमित प्रदर्शनी भइरहने छ । चालीस वर्षअघि भृकुटीमण्डपमा निर्माण गरिएको प्रदर्शनी केन्द्र पछिको अत्याधुनिक देशकै प्रदर्शनी केन्द्र यही नै हुने अधिकारीको दाबी छ ।

प्रदर्शनी केन्द्रले उत्पादित सामग्रीलाई बजारीकरण गर्न र उद्योगी व्यवसायीलाई नयाँ उत्पादन बजारमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । सरकारले ३० वर्षका लागि घरेलु तथा साना उद्योग कार्यालयको मातहतमा रहेको दुई बिगाहा साढे सात धुर जग्गा प्रदर्शनी केन्द्रलाई उपलब्ध गराएपछि सोही जग्गामा प्रदर्शनी केन्द्र निर्माण गर्न लागिएको उद्योग सङ्घका उपाध्यक्ष भेषराज दुवाडीले बताउनुभयो ।

बाह्रै महिना प्रदर्शनी हुने हुँदा स्वदेशी र विदेशी ठूलो सङ्ख्यामा पर्यटक जिल्ला भित्रिने उहाँको भनाइ छ । चितवनमा एक लाख ७३ हजारसम्म पर्यटक भित्रिएको तथ्याङ्क छ । केन्द्र नजिकैको दूरसञ्चार कार्यालयदेखि बाइपास रोडसम्मको सडकलाई प्रदर्शनी मार्ग नाम दिएर प्रचारसमेत गर्न थालिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *