अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली हस्तकला चिनाउन जोड

Post Date : May 9, 2016 | 7:31 pm

काठमाडौँ, २७ वैशाख । नेपाल हस्तकला महासङ्घको आयोजनामा भएको १३ औँ हस्तकला व्यापार मेला तथा ११ औँ प्रतियोगात्मक हस्तकला प्रदर्शनी सकिएको छ ।

सो मेलाको समापन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले हस्तकलाको माध्यमबाट विदेशी पर्यटकलाई नेपालमा भित्र्याएर त्यसलाई बजारीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकको जातजाति, भाषा, संस्कृति, वेशभूषा प्रचार गरेर देशमा विदेशी लगानी भित्र्याउनुपर्छ, त्यसका लागि मन्त्रालय सहयोग गर्न तयार छ ।” मन्त्री पोखरेलले कलासँग पर्यटन जोडिएको छ भन्दै पर्यटन प्रवद्र्धनका लागि मन्त्रालय लाग्ने स्पष्ट पार्नुभयो ।

उद्योग सचिव सूर्यप्रसाद सिलवालले नेपालका बारेमा चिनाउने महत्वपूर्ण वस्तु नेपाली हस्तकला भएकाले यसको महत्व धेरै रहेको उल्लेख गर्नुभयो । उहाँले छरिएर रहेका उद्योगलाई एकीकरण गर्न सके उत्पादनको परिणाम र गुणस्तर बढ्ने बताउनुभयो ।

महासङ्घका अध्यक्ष धर्मराज शाक्य, उपाध्यक्ष किरणकुमार डङ्गोल, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोरकुमार प्रधान लगायतले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको हस्तकला चिनाउन सके व्यापार घाटामा केही भए पनि कमी आउने बताउनुभयो ।

मेलाका उत्कृष्टलाई पुरस्कार

मेलामा उत्कृष्ट भएबापत विभिन्न विधामा पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा खुला छ कक्षबाट उत्कृष्ट भएकामा सभा नेपालका अध्यक्ष रवीन अमात्यलाई रु एक लाख ५० हजार सहित सम्मान गरियो ।

यस्तै १७७ साना कक्षबाट उत्कृष्ट भएबापत धनुषा उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण मण्डललाई रु २५ हजार प्रदान गरियो । यस्तै प्रस्तर विधामा उत्कृष्ट तीन जनालाई सम्मान गरियो । प्रस्तर विधामा प्रथम रवीन्द्र वज्राचार्य रु ५० हजार, द्वितीय योगेन्द्र वज्राचार्य रु ३० हजार र तृतीय रुपेश वज्राचार्यलाई रु २० हजार प्रदान गरिएको थियो ।

फेल्ट विधामा प्रथम हुने अजिम ताम्राकार र रजिना ताम्राकारलाई रु ५० हजार, द्वितीय हुने मिठु मगरलाई ३० हजार र तृतीय हुने रमिला तामाङ लामालाई रु २० हजार प्रदान गरियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *